काठमाडौँ। अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय ब्याट्सम्यान श्रेयस ऐयर घाइते भएपछि सिड्नीको एक अस्पताल भर्ना भएका छन् ।
अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय म्याचका क्रममा उनलाई छातीको तल्लो भागमा चोट लागेको थियो ।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको छ । हाल उनको अवस्था स्थिर रहेको भए पनि चिकित्सकहरूको निगरानीमा छन् । ऐयर डिस्चार्ज कहिले हुन्छन् भन्ने निधो छैन ।
बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानले प्लीहामा चोट देखाएको छ । उनी उपचारमा छन् । चिकित्सकीय रूपमा स्थिर छन् र राम्रोसँग रिकभर हुँदैछन् ।’
बीसीसीआईको मेडिकल टोलीले सिड्नी र भारतका विशेषज्ञहरूसँग समन्वय गरेर उनको चोटको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ । भारतीय टोलीका डाक्टर सिड्नीमा नै श्रेयससँग बसेर उनको दैनिक प्रगति मूल्यांकन गरिरहेका छन् ।
श्रेयसले यो चोट अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय खेलमा सिड्नीमा एलेक्स क्यारीको क्याच लिने क्रममा पछाडि दौडँदा लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १५ : ०९
लेखकबाट थप