काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरिरहँदा कार्यवाहक सभापति पूर्णवहादुर खड्काले सस्थापन पक्षका नेताहरुको गुटीय बैठक गरेका छन् ।
जने जी विद्रोहपछि निर्घाति कुटिएका सभापति शेरवहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर कर्नरमा बसेपछि खड्काले पार्टीभित्रको आन्तरिक राजनीतिमा गहिरो छलफल गर्न भन्दै सस्थापन पक्षका नेताहरुको बैठक गरेका हुन् ।
बैठक हिजो शनिबार ललितपुरको सानेपास्थित सिद्धार्थ होटेलमा बसेको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भएको छलफलमा १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरुको उपस्थिती थियो ।
विजय गच्छदार र गोपालमान श्रेष्ठ उपत्यका बाहिररहेका कारण उक्त बैठकमा उपस्थित नभएपनि उनीहरुलाई समेत आमन्त्रण गरिएको र आफुहरु उपस्थित हुन नसकेपनि छलफलमा निस्कने निश्कर्षमा आफुहरुको सहमति हुने वचन उनीहरुले दिएको सहभागी एक नेताले जानकारी दिए ।
प्रकाशमान सिंह, विमलेन्द्र निधि, शसांक कोइराला लगायतका सात भाइका नाममा आन्तरिक गतिविधि गरिरहेका नेताहरु खड्काको नेतृत्वमा बसेको संस्थापन पक्षको छलफलमा सहभागी भएका थिए । यसले कांग्रेसको वर्तमान आन्तरिक राजनीतिका लागि अर्थपूर्ण मानिएको छ ।
उनीहरुको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वान तथा गुरुराज घिमिरेलगायतका नेताहरुको सक्रिय सहभागितामा विशेष महाधिवेशनका नाममा गरिएको हस्ताक्षरले पार्टीभित्र कलह निम्त्याएको निश्कर्ष समेत निकालिएको छ । महामन्त्रीद्दयले पूरै संगठनको जिम्मेवारी लिनुपर्ने, पार्टीको नियमित महाधिवेशनको तयारी गर्नुपर्ने र जनेजी विद्रोहपछि उत्पन्न संकट समाधानमा भूमिका खेल्नुपर्ने बेला विशेष महाधिवेशनको हुन्डरी भित्राएर पार्टीलाई थप कमजोर बनाउने काम गरेको भन्दै गगन र विश्वप्रकाशको भूमिकामाथी नेताहरुले प्रश्न उठाएको पनि ती नेताले जानकारी दिए ।
विशेष महाधिवेशनको माग गरेर कार्यवाहक सभापतिलाई बुझाइएको हस्ताक्षरका बारेमा पनि अब के गर्ने भनेर उक्त बैठकमा छलफल भएको थियो । विशेष महाधिवेशन हस्ताक्षर कर्ताले पत्रकार सम्मेलन गरेर ३५ दिन काउन्टडाउन गरेर बसेको बताउन थालेपछि त्यसको प्रतिवाद कसरी गर्ने भन्नेमा उनी उनीहरुले आन्तरिक रणनीति बनाउनु पर्ने निश्कर्ष निकालेका हुन् ।
केही दिन स्थगित भएर फेरि बस्ने तयारी भएको जारी केन्द्रीय समिति बैठकबाट आगामी मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने कि वर्तमान कार्यसमितिको म्याद थप्ने भन्ने लफ्फाबाजी कांग्रेसभित्र छ । संस्थापन पक्ष मंसिरभित्र महाधिवेशन सम्भव नहुने निष्कर्षमा छ भने नेता शेखर कोइराला र महामन्त्रीद्वय मंसिरमै महाधिवेशन गर्न सकिने बुझाइ राख्छन् ।
सानेपाको सिद्दार्थ होटलको छलफलमा केही नेताहरुले भने महामन्त्रीद्वयको भावनालाई पनि सम्बोधन गर्ने गरि केन्द्रीय समितिबाट निर्णय लिने गरी अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यवाहक सभापतिले एकपटक सभापति शेरवहादुर देउवासँग पनि आन्तरिक रुपमा छलफल गर्ने र फागुन २१ मा चुनाव हुने भए त्यस अगाडी महाधिवेशन गर्न नसकिने र चुनावको तयारीमा जुट्नुपर्ने सुझाव नेताहरुले कार्यवाहक सभापतिलाई दिएका छन् ।
‘फागुन २१ मा चुनाव हुने भयो भने पार्टीभित्रको आन्तरिक एकता खल्वलाउने गरी त्यस अगाडी मंसिरमै कसरी महाधिवेशन सम्भव हुन्छ ?’ बैठकमा सहभागी नेता विमलेन्द्र निधिले प्रस्ताव गरेका थिए,‘त्यस्तो बेला म्याद थप गर्नुको विकल्प हुन्न । निर्वाचन नहुने भएमा धमाधम पार्टीका क्रियाशिल सदस्यता, गाउँ, क्षेत्र, जिल्लाका अधिवेशनहरुको कार्यतालिका बनाएर नियमित महाधिवेशन फागुनतिर गर्ने गरी जानुपर्ने हुन्छ ।’
तर नेताहरुले महामन्त्रीद्दयलाई पनि यसमा कसरी सहमतिमा ल्याउने भन्नेमा छलफल गर्नुपर्ने र उनीहरुको समेत सहमतिमा कार्यक्रम बनाउनु पर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुन काँग्रेसको परिपत्र
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने
फागुन २१ को चुनाव वैशाखमा सार्न काँग्रेस बैठकमा प्रस्ताव
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि समसामयिक राजनीतिक विषयमा नेताहरुले धारणा राख्ने
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक आज, बिहान कार्यसम्पादन समितिको बैठक बस्दै