काठमाडौ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ। यही क्रममा आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।
बैठकमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गरी आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशन दिने तयारी गरिएको छ।
यसअघि शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका उपप्रमुखहरूसँग गहन छलफल भएको थियो। छलफल आगामी निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण र सुरक्षा संयन्त्र सुदृढीकरणमा केन्द्रित रहेको बताइएको छ।
गृहमन्त्री अर्यालले कार्यभार सम्हालेलगत्तै सहसचिव आनन्द काफ्लेको नेतृत्वमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका थिए। समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य र उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव रहेका छन्।
यो समितिले तयार पारेको एकीकृत सुरक्षा योजना शीघ्रै जिल्लास्तरमा पठाइनेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिहरूले उक्त योजनाको कार्यान्वयन गर्नेछन्।
गृहमन्त्री अर्यालले भने, ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ, सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी तयारी अघि बढाइरहेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बस्दै