पाल्पा । हिन्दुहरूको दोस्रो ठुलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ ।
यति बेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् ।
जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिला यति बेला झिनियाँ बनाउन र बिक्री गर्नमै व्यस्त छन् । उनीहरूले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउने गर्दै आएका छन् । तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा यति बेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली, पसलपसलमा रङ्गीविरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलमा झिनियाँ रोटीको व्यापार सुरु भएको छ ।
तानसेन टक्सार टोलकी झिनियाँ व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आएकी छिन् । उनले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन् । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख रुपैयाँ आम्दानी भइरहेको उनी बताउँछिन् । सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दै आएकी छिन् । दसैँतिहारमा मात्र साढे तीनदेखि ६ लाख रुपैयाँको झिनियाँ बिक्री हुने उनको भनाइ छ । बज्राचार्यले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताइन् ।
बज्राचार्यले जस्तै टक्सार टोलका अन्य महिलाले पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योग नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाँको व्यापार फस्टाउँदो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०६ : ४०
लेखकबाट थप