जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०८२, १० : ०७
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते

काठमाडौं । जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप भएको छ । झडपमा ११ जना घाइते भएका छन् । 

घाइते हुनेमा दशजना प्रहरी र एक व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनपुरधामको सोनारपट्टीमा रहेको सञ्जय ठाकुरको ज्वलर्समा गएराति प्रहरीले छापा मार्नेक्रममा झडप भएको हो । “भारतबाट अवैधरूपमा चाँदी ल्याएको सूचनाका आधारमा हामी छापा मार्न गएका थियौँ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले भने, “प्रहरीलाई व्यापारीले अवरोध गरेपछि झडपको अवस्था आएको हो ।” 

बिल नभएको करिब सात किलाे चाँदी बरामद गरिएको उनले जानकारी दिए । झडपका क्रममा ६/७ राउन्ड हवाई फायर र ३/४ सेल अश्रुग्यास प्रहार गरिएको डीएसपी बमले बताए । 

“दुईजना प्रहरीको टाउकोमा चोट लागेको छ, अवस्था मध्यम रहेको छ,” डीएसपी बमले भने । उनले राजश्व अनुसन्धान विभागसँग समन्वय गरेर छापा मारेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस