भुम्लु गाउँपालिकाका ५३१ जनाले पाए जग्गाधनीपुर्जा

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०८२, १० : ०१
भुम्लु गाउँपालिकाका ५३१ जनाले पाए जग्गाधनीपुर्जा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन् ।

हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रूपमा गत भदौदेखि वितरण गर्न थालिएको हो । उनीहरूलाई गत भदौ ३ गते तत्कालीन भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा बितरणको सुरुआत गर्नुभएको थियो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए ।
 
प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका–७ र ८ का चार सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का एक सय ८५ र वडा नं ८ मा दुई सय ४६ गरी चार सय ३१ जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्यसयता एक सय लालपुर्जा तयार भई वितरण भइरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताए । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा बितरण भइरहेको हो । आवश्यकतानुसार तीनदेखि छ जना कर्मचारीले ‘फिल्ड’मा काम गरिरहेको भुसालको भनाइ छ ।
 
समस्या समाधनका लागि जिल्लस्थित नापी कार्यालयले २०७१ साल जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकका तत्कालीन सांसद एवं मन्त्री गोकुल बाँस्कोटाले २०७६ साल मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि भने स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् ।

कार्यालयका अनुसार वडा नं ७ मा तीन सय र ८ मा छ सय लालपुर्जा बनाउनुपर्ने देखिएको छ । घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस