पूर्वसभामुख महरालाई सुन तस्करीमा ८ करोड बिगो दाबी

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, १६ : ३८
पूर्वसभामुख महरालाई सुन तस्करीमा ८ करोड बिगो दाबी

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

जिल्ला अदालत काठमाडौँमा आज दर्ता भएको मुद्दामा तीन वटा अभियोग दाबी गरिएको छ । संगठित अपराधसँगै भन्सार ऐन र सुन तस्करीसम्बन्धी अभियोग दाबी गरिएको छ । उनलाई संगठित अपराध ऐन अन्तर्गत हदैसम्मको कैद दाबी गरिएको छ  । 

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार महराविरुद्धको मुद्दा आज दर्ता मात्र हुनेछ भने बयान र थुनछेक मंगलबार मात्र हुनेछ । मंगलबार थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने छ ।

जिल्लाले धरौटी मागे सो बराबर रकम बुझाएर महरा रिहा हुन पाउनेछन् नत्र थुनामा हुनेछन् ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा उनलाई यसअघि उन्मुक्ति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस