हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम

एजेन्सी

सोमबार, २७ असोज २०८२, १४ : २७
हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम

काठमाडौँ । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकहरू मध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारहरूलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

दुई वर्ष लामो विनाशकारी युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै बाँचेका बन्धकहरूलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ । ट्रम्पले युद्ध ‘समाप्त भएको’ घोषणा गर्दै यही सम्झौताको कार्यान्वयनको निरीक्षणका लागि क्षेत्रीय भ्रमण सुरु गरेका छन् ।

“रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजा पट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ”, इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “आइडिएफ थप बन्धकहरू प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।”

तेल अभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भनिन्, “म खुशी र पीडाबीच छु – खुशी छु कि केही फर्किए, तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनहरूका लागि ।”

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीहरूलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमश: मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारहरूले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस