काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ।
एक युट्युब च्यानलमा कुराकानीको क्रममा सुवेदीले जेनजी आन्दोलन सुरु हुनु अघिका दुई दिनमा प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए । उक्त अभिव्यक्तिलाई असत्य र भ्रम फैलाउने भन्दै माओवादी केन्द्रले बिहीबार त्यसको खण्डन गर्दै साइबर ब्यूरोमा उजुरी दिएको हो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार आइतबार साइबर ब्यूरोमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न माग गरिएको छ।
‘झुठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या समेत गरिएको छ। सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वविरुद्ध गरिएको यस्तो चरित्रहत्या गम्भीर साइबर अपराध भएकाले पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको हो,’ प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संयोजकको सचिवालयका तर्फबाट दिइएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएको गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ११ : ४९
लेखकबाट थप