काठमाडौं । दुई वर्ष देखि गाजामा हमासले बन्धक बनाएका नेपाली बिपिन जोशी जीवित बन्धकहरुको नयाँ सूचीमा देखिएका छन् ।
उनको अवस्था यस अगाडीसम्म अज्ञात रहँदै आएको थियो । तर अहिले जीवित बन्धकहरुको नयाँ सार्वजनिक सूचीमा उनको समेत नाम र तस्विर देखिएपछि उनी जीवित रहेको तथ्य सार्वजनिक भएकोे छ ।
टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि परेका छन् । वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।
यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो।
अहिले सार्वजनिक सूचीमा बिपिनसँगै गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ–दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपश्र्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ–चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर रहेका छन् ।
जोशी गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि उनी त्यहाँ पुगेका थिए । १७ नेपाली विद्यार्थीमध्ये १० जनाको आक्रमणमा मृत्यु भएको थियो ।
शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ । उक्त आक्रमणमा करिब एक हजार २ सय जना मारिएका थिए भने २ सय ५१ लाई अपहरण गरिएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन् ।
इजरायली कारबाहीमा ज्यान गुमाउने आधा महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ।
२५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्। मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि छ । शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ । इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०८ : ४६
लेखकबाट थप