रौतहट । रौतहट जिल्लामा गत १७ र १८ गते परेको अविरल वर्षा, बाढी र हावाहुरीले जिल्लाभरिका किसानले लगाएको धानबालीमा ठुलो क्षति भएको छ। पूर्वमा बागमती, पश्चिममा लालबकैया, चाँदी, झाँझ, गुजरा लगायतका नदी तथा खोलाहरूमा आएको बाढी र डुबानका कारण हजारौँ हेक्टर खेत जलमग्न हुँदा किसानहरूको वर्षभरको परिश्रम बरबाद भएको हो।
धान पाकेर काट्ने संवेदनशील समयमा परेको तीव्र वर्षा र हावाहुरीले अधिकांश खेतमा धान लडेका छन्। केही खेतमा बाला झुलिएर सड्न थालेको र केही खेतमा भर्खर बाला लाग्ने क्रममा रहेको हुँदा क्षतिको दायरा अझै बढ्ने अनुमान गरिएको छ। किसानहरूले यस अवस्थालाई आफ्नो “वर्षभरको आशा डुबेको” घटना बताएका छन्।
कटहरिया नगरपालिका ५ किसान रामचन्द्र गोसाईं भन्छन्, “धान नै हाम्रो मुख्य खाद्यान्न हो। यो सिजनमा बाली नष्ट भएपछि अब गुजारा कसरी चलाउने भन्ने चिन्ता बढेको छ।”
जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार, यस वर्ष जिल्लामा ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो। तीमध्ये करिब १६ हजार हेक्टरमा लगाइएको धान पूर्ण रूपमा नष्ट भएको छ।
धानसँगै अन्य बालीहरू पनि प्रभावित भएका छन्। कुर्मीका अनुसार, १.३१ प्रतिशत हेक्टर उखु, ४ सय हेक्टर तरकारी, २ सय हेक्टर केरा र २.३२ प्रतिशत हेक्टर फलफूल खेतीमा समेत क्षति पुगेको छ।
रौतहटमा कुल ५१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेकामा ३६ हजार हेक्टरमा मात्र धान खेती गरिएको थियो। तीमध्ये झन्डै आधा बाली नष्ट भएपछि यस वर्ष जिल्लाको धान उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित भएको छ।
कृषि विज्ञहरूका अनुसार, जलवायु परिवर्तनका कारण कृषि चक्र अस्थिर बन्दै गएको छ। यो वर्ष रोपाइँको समयमा खडेरी र भित्र्याउने समयमा आएको अत्यधिक वर्षा यसको ठोस उदाहरण हो। निरन्तर असन्तुलित मौसमका कारण किसानहरू बर्सेनि आर्थिक रूपमा कमजोर बन्दै गएका छन्।
तर, किसानहरूको यो संकटप्रति केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू मौन देखिएको किसानहरूको गुनासो छ। राहत र क्षतिपूर्तिको प्रक्रिया सुरु नहुँदा किसानहरूको मनोबल झनै खस्किएको छ।
रौतहटमा धान खेती प्रायः वर्षामा निर्भर छ। सिँचाइ, ढल निकास र पूर्व सूचना प्रणालीको अभावले प्राकृतिक विपद् हुँदा क्षतिको असर ठुलो हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति
बेमौसमी वर्षाले पाकेको धानबालीमा क्षति
बाढीबाट चितवनमा धानबाली र माछापालनमा बढी नोक्सानी