काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमता अपनाई आवश्यक सहयोग र सहकार्य गर्न आह्वान गरेका छन् ।
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँ-२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् । उनले मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र विभिन्न क्षेत्रमा भएको भौतिक क्षतिको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको पनि औंल्याए । बडादसैँलाई शक्ति, भक्ति र श्रद्धाको पर्वका रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसले नेपालीबीच पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले भने, “दसैँलाई असत्यमाथि सत्यको विजयको पर्वका रूपमा लिइन्छ। यस पर्वले न्याय, समानता, आर्थिक समृद्धि, सामाजिक एकता र आपसी सद्भावलाई बलियो बनाउन टेवा पुर्याउने छ।” राष्ट्रपतिले बडादसैँको अवसरमा सबै नेपालीबीच श्रद्धा, सम्मान र हार्दिकताको आदान–प्रदान हुने परम्पराले सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै, वर्तमान राजनीतिक अवस्थाबाट छिट्टै उन्मुक्ति प्राप्त गरी राष्ट्रको समग्र कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै उनले मुलुकमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको शुभकामना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ११ : ०७
लेखकबाट थप