महोत्तरी । मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दसैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ ।
असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । यसअनुसार छैटौँ दिन षष्ठी तिथिमा सम्पन्न गरिने ‘बेलनौत’ यसपालि सातौँ दिनमा परेको हो ।
नवरात्रको षष्ठी तिथिका दिन ‘बेलनौत’ विधिको मिथिला परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजना गरिन्छ । यसैगरी देवी शक्तिपीठ र मन्दिरमा पनि ‘बेलनौत’ विधिको बेल पूजास्थलमा राखिने मैथिल चलन छ ।
यहाँ दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । ‘नौत’ भनेको निमन्त्रणा गरिनु हो । यसअनुसार आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्ने परम्परा रही आएको छ ।
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि माटो मुछेर बनाई स्थापित गरिएका देवी प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास–२ का महेशकुमार झा बताउछन् ।
सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०९ : १४
लेखकबाट थप