हमासले भन्यो- नेतन्याहुले संयुक्त राष्ट्रसंघमा बोलेका कुरा झुट

एजेन्सी

शनिबार, ११ असोज २०८२, ०९ : ५४
हमासले भन्यो- नेतन्याहुले संयुक्त राष्ट्रसंघमा बोलेका कुरा झुट

एजेन्सी । हमासले संयुक्त राष्ट्रसंघको महासभामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिएको भाषण ‘भ्रामक’ भएको बताएको छ।

शुक्रबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतन्याहुले प्यालेस्टाइनलाई देशको दर्जा दिनु ‘पूर्ण पागलपन’ र ‘लज्जास्पद’ भनेका थिए।

साथै उनले हमासलाई भने, ‘आफ्ना हतियार तल राख, हामीलाई भित्र पस्न देऊ र बन्धकहरूलाई मुक्त गर, नत्र हामी तिमीलाई फेला पार्नेछौँ र मार्नेछौँ।’

यस क्रममा नेतन्याहुले हमासद्वारा बन्धक बनाइएकाहरूलाई पनि सम्बोधन गरे।  उनले भने, ‘हामीले तपाईंहरूलाई बिर्सेका छैनौँ- एक पल पनि। इजरायलका जनता तपाईंहरूसँगै छन्।’

नेतन्याहुको भाषणपछि हमासले टेलिग्राममा विज्ञप्ति जारी गरी विरोध जनाएको हो। बीबीसी उर्दुका अनुसार हमासले विज्ञप्तिमा भनेको छ, ‘नेतन्याहुले भ्रामक भाषण दिए, जसमा झुटको लामो सूची छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘झुटले सत्य परिवर्तन गर्न सक्दैन र संसारलाई अब इजरायलले गाजामा के गरिरहेको छ भन्नेबारे धेरै थाहा छ।’

‘हामी गाजामा हत्या र विनाश रोक्न संसारलाई अपिल गर्छौँ’, हमासले भनेको छ, ‘इजरायललाई गाजाबाट फिर्ता हुन बाध्य पार्नुहोस्।’

साथै हमासले अन्य मुलुकलाई पनि प्यालेस्टाइनलाई एक देशका रूपमा मान्यता दिन अनुरोध गरेको छ।