सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, ०९ : ३१
सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ । साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् । 

ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा रु एक करोड एक लाख ६३ हजार बराबरको सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए । गाउँपालिकाले चाडपर्वको पूर्वसन्ध्यामा गाउँमै शिविर आयोजना गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि लाभग्राहीसमेत हर्षित भएका छन् । 

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई रु ३८ लाख २१ हजार, वडा नं २ रतन्छाका १२३ जनालाई रु १८ लाख ५८ हजार, वडा नं ३ खिदिमाका ८८ जनालाई रु १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको हो ।

कतिपयले बैंकको मानेभञ्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । गाउँपालिकाले नेपाल एसबिआई बैंकको साकेला शाखासँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने गाउँपालिकाले जनाएको छ । बैंकिङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने सामासकिज सरक्षाभत्तालाई गाउँपालिकाले पहिलादेखि नै वडा–वडा पुगेर वितरण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस