१११ अंक बढ्यो सेयर बजार

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १६ : १३
१११ अंक बढ्यो सेयर बजार

काठमाडौं । अघिल्लो कारोबार दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार ४.४४ प्रतिशत बढेको छ । १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो ।

आजको अंक अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछिको हो । भारित औसत मूल्य गणनाअघि नेप्से ११६ अंक बढेको थियो । पर्सि मंगलबारदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाइने भएको छ । कम्पनीहरू अन्तिम मूल्यकै आधारमा नेप्से सहित समूहगत सूचक गणना हुनेछ ।

सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।

निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन् । निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो । भदौ २४ गते थुप्रै व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरुको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव देखिएको हो ।

प्रतिक्रिया दिनुहोस