नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०८२, ०९ : ४४
नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

काठमाडौं । नेपालमा 'जेनजी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्।

महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन्।

नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस