निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०८२, ०८ : ११
निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् । उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वार्टरको निरीक्षणका क्रममा सीडीओ अधिकारीले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

निरीक्षणमा नवनिर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिनुका साथै निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा सीडीओ पौडेलले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर लाग्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले आसन्न मनाङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) उपनिर्वाचनका लागि सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, उनले अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागुपदार्थ न्यूनीकरण, आइसिटीको प्रयोग, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा विशेष जोड दिनुपर्ने बताए। प्रहरी कर्मचारी अनुशासित, व्यावसायिक र उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ थियो ।

प्रजिअ पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको पनि निरीक्षण गरेका छन् । निरीक्षणमा प्रशासन, तालिम, सञ्चार, आर्थिक प्रशासन, कार्य-सीमा शाखा, ब्यारेक र अन्य संरचना अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस