प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दै सुनुवाइ समिति

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, १० : ४८
प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दै सुनुवाइ समिति

काठमाडौं । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दैछ । सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा प्रस्तावित छन् । उनीहरूविरुद्ध ५ वटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विषयमा उजुरी परेको छ ।

समितिले उजुरीकर्तालाई आज बिहान ११ बजे सिंहदरबारमा बोलाएको छ । उजुरीकर्तासँग छलफल गरिसकेर आइतबार प्रस्तावित न्यायाधीशहरुको कार्यायोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची छ ।

सुनुवाइ समिति सचिवालयका अनुसार प्रस्तावित न्यायाधीश पोखरेलविरुद्ध दुइटा उजुरी छन् । एउटा उजुरीमा मेघराज पोखरेलले सार्वजनिक बाटो मास्न सरकारी कागज किर्ते गर्नेको पक्षमा बहस गरेको भनेर आरोप लगाइएको छ । बहस गर्दा समेत किर्ते कागजको प्रयोग गरेको आरोपपत्रमा उल्लेख छ ।

अर्को एउटा उजुरी एकजना पूर्वप्रहरी उपरीक्षकले दिएका छन् । उजुरीकर्ता भ्रष्टाचारको मुद्दा लागेर हारेको थिए । तर, त्यो मुद्दा आफूमाथि नियतबस लगाइएको र आफू हार्नुमा प्रमाणको उचित मूल्यांकन नगरी सर्वोच्च अदालतले समेत अन्याय गरेको भनिएको छ । तर, आफ्नो मुद्दामा पोखरेलको के सम्बन्ध छ र उनी किन सर्वोच्च अदालतको लागि अयोग्य छन् भने केही खुलाइएको छैन ।

सर्वोच्चको न्यायाधीश प्रस्तावित श्रीकान्त पौडेलविरुद्ध पनि दुइटै उजुरी परेको छ । एउटा उजुरीमा पौडेलको कार्यक्षमतामा प्रश्न उठाइएको छ ।