म्याग्दी । डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलव ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि विसं २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रुख छन् ।
पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ताबापतको रकमसमेत उपलब्ध गराइएको बताउँदै आयोजना प्रमुख रोशन अग्रवालले बताउँदै डिभिजन वन कार्यालयले रुख कटान आदेश दिन ढिलाइ गरेकाले समस्या भएको उल्लेख गरे ।
“आयोजनाको तर्फबाट एक वर्षअघि नै जग्गा खरिद गरेर वनलाई सोधभर्ना गरेका थियौँ । बिरुवा हुर्काउने पहिलो किस्ताबापतको बजेट पनि पाँच महिनाअघि दिएका थियौँ”, उनले भने, “वनले कटान आदेश दिन ढिलाइ गर्नु, भौगोलिक समस्या र राहुघाट सब स्टेसनमा थप काम गर्नुपर्ने भएकाले आयोजनाको म्याद थप गर्नुपर्ने अवस्था आएको हो ।”
प्रमुख अग्रवालका अनुसार आगामी २०२६ अप्रिलभित्र आयोजना सम्पन्न गर्ने नयाँ समय तालिका ठेकेदारले पेस गरेको छ । “मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटरमा १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको म्याद गत जुलाई १६ मा सकिएको हो”, उनले भने ।
एक सय ३२ केभी क्षमताको डबलसर्किट प्रसारण लाइनअन्तर्गत हालसम्म ५९ टावरको जग राखिएकामा ४५ वटाको काम सकिएको प्रमुख अग्रवालले जानकारी दिए। रुख काट्नुपर्ने चार वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रसारण लाइन र सब स्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ भदौ २०८२, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा जुट्यो ७३ अर्ब लगानी