काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा समर्थन नगरेको बताएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा शनिबार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय भेटवार्तामा नेपालले जीएसआईमा समर्थन जनाएको उल्लेख थियो ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीचको भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडाले यसको खण्डन गरेका छन् । नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग नबन्ने उनले बताएका हुन् ।
शांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भदौ १४ गते तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको थियो ।
भेटपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) लाई समर्थन गर्दछ’ भनिएको छ ।
‘प्रधानमन्त्री ओलीको यो भ्रमण मूलतः एससिओ प्लस को शिखर सम्मेलनका लागि हो । सामान्यत : यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन । सहमति नै नभएको विषयमा नेपाल जिएसआइको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत छ,’ डा. खतिवडाले भने ।
डा खतिवडाले दुई मुलुकबीच यसअघि भएका बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) को फ्रेमवर्कलगायत सहमति र सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले प्राथमिकता दिने विषयमा छलफल भएको बताए ।
जिएसआइमा नेपालले समर्थन जनाएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको सन्दर्भमा समेत डा. खतिवडाले खण्डन गरेका छन् । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा नेपालले जीसीआईमा समर्थन जनाएको उल्लेख भएकोमा डा. खतिवडाले भने त्यसलाई झुटो भनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १५ : २९
लेखकबाट थप