सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे: रास्वपा

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १३ : ४९
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे: रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ काँग्रेस र एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन् ।बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए ।

उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो , त्यसले सम्मानित सदनलाई चोट पुर्‍याएको छ, लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्माइ हो ।’

मानव तस्करीको आरोप लगाउँदै सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि रास्वपासहितका विपक्षी दलले विरोध जनाएका छन् ।प्रमुख सचेतक परियारलले सत्तारुढ दलले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गर्न लगाएको तर्फ संकेत गर्दै सांसदको विवेकलाई बन्दी नबनाउन आग्रह गरे ।

‘सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैँमा सार्वभौम हो, सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यही बेला स्वार्थपूर्ति गर्ने मुद्दा नबनाउँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको उनको आरोप छ । ‘आज रास्वपालाई निषेध गर्न खोजिँदै छ, नयाँहरूलाई निषेध गर्न सकिँदैन, समाज विज्ञानले प्रमाणित गरेको कुरा हो, कुनै पनि नयाँहरूलाई समाजले निषेध गर्न सक्दैन, हो हामीलाई कमजोर बनाउन खोजिएला तर हामीलाई निषेध गर्न यो समाजले सक्दैन, यो नयाँ युगले सक्दैन भन्ने हाम्रो ठम्माइ हो,’, उनले भने ।

बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई आक्रमण गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस