कोशी प्रदेश सभामा लिम्बू भाषामा सांसद लिम्बूको सम्बोधन

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०८२, १५ : ४९
कोशी प्रदेश सभामा लिम्बू भाषामा सांसद लिम्बूको सम्बोधन

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बूले कोशी प्रदेश सभा बैठकमा लिम्बू भाषामा सम्बोधन गरेकी छन् । जसपा संसदीय दलको नेता लिम्बूले आइतबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर लिम्बू भाषामा सम्बोधन गरेकी हुन् ।

प्रदेश सभामा लिम्बू भाषामा सम्बोधन गर्ने क्रममा उनले भाषा आयोगको सिफारिस अनुसार ढिलै भए पनि लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागेकोमा सरकारलाई धन्यवाद दिइन् ।

बिहीबार लिम्बु र मैथली भाषालाई सरकारी कामकाजको भाषा व्यवस्थाका लागि प्रतिपक्षी दलले पेश गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सत्तापक्षले ह्विप लगाएर अस्वीकृत गरेको थियो ।

प्रतिपक्षीको प्रस्ताव अस्वीकृत गरेको सरकारको तर्फबाट आइतबार प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था  गर्न बनेको विधेयक’ संसदमा पेश गरे ।

अब विधेयकमाथि छलफल प्रक्रिया अघि बढ्ने छ । कात्तिक २५ गते राष्ट्रिय विभूति फाल्गुनानन्द लिङ्देनको जयन्तीको अवसर पारेर सरकारी कामकाजमा लिम्बू र मैथली भाषा प्रयोगमा ल्याउने सरकारको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस