पार्टी एकताबारे नेतृत्व तहमा कुराकानी भइरहेको छ, अरु नेताले बोल्न जरुरी छैन : प्रचण्ड

विहीबार, २० पुस २०७४, १६ : ५१
पार्टी एकताबारे नेतृत्व तहमा कुराकानी भइरहेको छ, अरु नेताले बोल्न जरुरी छैन : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे नेतृत्व तहमा कुराकानी भइरहेकोले अरु नेताले बोल्न जरुरी नभएको बताएका छन् । ‘पार्टी एकताका लागि कुनै गाँठो परेको छैन’ उनले भने, ‘एकताको डोरी बाँधिन्छ ।’
भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकता संयोजन समितिले दुई वटा पार्टीका अध्यक्षलाई दुई जना नेता भनेर तोकेको जानकारी दिए । अध्यक्ष प्रचण्डले कार्यकारी पदको विषयमा कुनै विवाद नरहेको स्पष्ट पारे । 
‘पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा होइन, देशको समृद्धि, सुशासन र राष्ट्रिय एकतामा हाम्रो जोड रहेको छ’ प्रचण्डले भने, ‘दुई नेतामध्ये एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी एकताको टुंगो छिट्टै लाग्नेछ ।’
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्वद्ध बुद्धिजीवी संगठनले पुस ९ गते भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको अन्तिम तयारी भइरहेको बताएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुरा पछाडि फर्कनै नमिल्ने गरी अघि बढिसकेको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस