म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका विभिन्न ठाउँमा ८ सय ७४ उपभोक्ता थपिएको जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नम्बर ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिए ।
उनका अनुसार धवलागिरि गाउँपालिका– २ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नम्बर ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनको भनाइ छ ।
गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ ।
उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ ।
यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युतका ग्राहक पुगेको केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए । आव २०८०–८१ मा एक हजार ४३८, २०७९–०८० मा एक हजार २३८, २०७८–०७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ ।
पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०–०८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
लमजुङमा १७ विद्युत् आयोजनाबाट बिजुली उत्पादन
रुकुम पश्चिमका २२ हजार घरधुरीमा जोडियो केन्द्रीय विद्युत्