गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, १५ : ३९
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा

काठमाडौँ । इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ ।  इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतबार बिहान १० बजेदेखि राति ८ बजेसम्म मानवीय सहायताको उद्देश्यका निम्ति सैन्य गतिविधिमा अस्थायी र सीमित विराम रहने बताएको बीबीसीले जनाएको छ ।

आईडीएफले काम नगर्ने क्षेत्रहरू अल-मावासी, देइर अल-बलाह र गाजा शहरमा विराम सुरु हुने छ । अर्को आदेश नभएसम्म यी क्षेत्रहरूमा दैनिक सैन्य गतिविधिहरूमा रणनीतिक रोक रहने खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको परामर्शपछि यो निर्णय लिएको आईडीएफले बताएको छ । यसका साथै गाजा पट्टीका मानिसहरूलाई खाना र औषधि पुर्‍याउने राष्ट्रसंघ र मानवीय सहायता संस्थाका सहायता ट्रकहरूको सुरक्षित आवागमनलाई अनुमति दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म स्थायी सुरक्षित मार्गहरू सिर्जना गरिने बीबीसीले जनाएको छ ।

शनिवार राति गाजामा जहाजबाट सहायता सामग्री खसालेको बताएको इजरायलले त्यसलगत्तै यस्तो घोषणा गरेको हो । एक सयभन्दा धेरै संस्थाले गाजामा भोकमरीको चेतावनी दिएका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार गाजाको एक तिहाइ जनसङ्ख्याले केही दिनदेखि खाना खाएका छैनन् र ९० हजार महिला तथा बालबालिकालाई आपत्कालीन सहायताको आवश्यकता छ । अहिलेको वितरण प्रक्रियाका कारणबाट झैझगडा, घाइते हुने र ज्यानै गुमाउनेसमेत जोखिम छ । गाजामा खाद्यान्नसँगै पानीको पनि अभाव छ ।

 

प्रतिक्रिया दिनुहोस