गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ

सफल खबर संवाददाता

शनिबार, १० साउन २०८२, ०८ : २६
गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ

काठमाडौ  । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा हर तीनमध्ये एक व्यक्ति धेरै दिनदेखि खाना नखाई बाँचिरहेको बताएको छ । 

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कुपोषण बढ्दै गएको छ र ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ ।”

गाजामा यो हप्ता भोकमरी झन् बढ्ने एजेन्सीहरूको अनुमान छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार इजरायलसँग युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ ।

गाजामा आवतजावत गर्ने सबै कुरामाथि नियन्त्रण राख्ने इजरायलले यो क्षेत्रमा कुनै पनि सहायता पुग्नबाट नरोकोको बताएको छ । 

इजरायलले गाजामा कुपोषणको लागि हमासलाई जिम्मेवार ठहराएको छ । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा ५९ हजारभन्दा बढी मानिस मारिएका छन् । 

प्रतिक्रिया दिनुहोस