काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरू बन्नु नहुने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटन मन्त्री समेत रहेका भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरू रहेको र त्यसमध्ये सञ्चालनमा ३२ वटा मात्रै रहेको बताए ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको क्रममा भट्टराईले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको बताए ।
१९४९ सालमा पहिलो पटक हवाई सेवा सुरु गरेको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९५९ जना मानिसको ज्यान गएको उनले बताए । ‘यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । जाँचबुझ आयोगले निर्क्योल गरेका दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने, मानवीय त्रुटि, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या समाधान गर्ने यी ऐनहरू बनाइरहेका छौँ,’ उनले भने ।
अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाई विस्तार गर्न जरुरी रहेको भट्टराईले बताए । ‘५५ वटा एयरपोर्ट हाम्रोसामु छन् । अब नेपालमा कति एयरपोर्ट चाहिन्छ ? हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ’ उनले भने, ‘५५ वटा एयरपोर्टमध्ये ३२ जति सञ्चालनमा होलान् । त्यही पनि सबै नियमित छैनन् ।’
भट्टराईले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट मात्रै अबको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । ‘फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो’ उनले भने, ‘राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ ।’
भट्टराईले अब थप विमानस्थल थप्ने भन्दा भएकाको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई
एमाले संवैधानिक राजनीतिक निकासको बाधक बन्दैन: योगेश भट्टराई