भरतपुरमा एकीकृत पूर्वाधार निर्माण सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, १३ : ०१
भरतपुरमा एकीकृत पूर्वाधार निर्माण सम्पन्न

चितवन । भरतपुर महानगरलाई सुन्दर सहर बनाउन सुरु गरिएको एकीकृत सहरी पूर्वाधार विकासनिर्माण कार्य सकिएको छ ।  सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत तीन वटा क्षेत्रमा विभाजन गरी गरिएको निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिए । व्यवस्थित सुविधासम्पन्न सहर निर्माण गर्न तीन खण्डमा विसं २०७९ फागुन १० बाट काम थालनी भएको थियो । एक पटक म्याद थप गरेर २०८१ फागुनमा निर्माण पूरा गरेको हो ।

तीन खण्डमा काम थालनी गरिएको सहरी पूर्वाधार अन्तर्गत आयआर्जनको क्षेत्रमा हाटबजार निर्माण, बसपार्क निर्माण, सडक निर्माण कार्यक्रम छन् । भौतिक निर्माण अन्तर्गत फराकिलो बाटो, फुटपाथ, कलभर्ट रहेको छ । सम्झौता भए अनुसार नारायणी नदी किनारमा निर्माण गरिने आरतीस्थल भने स्थान अभावका कारण निर्माण हुन सकेको छैन ।

कार्यालय प्रमुख थापाले भने, “उपयुक्त स्थानको अभावमा आरतीस्थल निर्माण गर्न सकिएन, नदी किनारमा बनाउनलाई बाढीको जोखिमले काम गर्न सकिएन । नजिकै अन्य स्थान अभाव भएकाले एकीकृत कार्यक्रममा यो काम भने हुन नसकेको हो ।”

सहरी पूर्वाधार विकास निर्माणका लागि ५० करोड रुपियाँको कार्यक्रम स्वीकृत भएको थियो । निर्माण कम्पनीसँग ४१ करोड १९ लाख रुपियाँमा सम्झौता भएको कार्यालय प्रमुख थापाले जानकारी दिए । विनियोजित बजेटको ५० प्रतिशत भौतिक निर्माणमा खर्च भएको छ । बाँकी बजेट आर्थिक आयआर्जन र सामाजिक पूर्वाधार क्षेत्रमा लगानी भएको कार्यालयका सूचना अधिकारी द्रोण कटुवालले जानकारी दिए ।

भौतिक निर्माण अन्तर्गत बसेनी–बाइपास सडक शुकनगर–देवीस्थानको सडक, पटिहानी–मङ्गलपुर–काँडाघारी क्षेत्रमा सडक निर्माण पूरा भएको छ । यो क्षेत्रमा निर्माण गरिएको सडक सातदेखि १२ मिटरसम्म फराकिलो छ । ग्रामीण क्षेत्रमा भएका सडक साँघुरोे भएका कारण दोहोरो सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको थियो । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत निर्माण गरिएका साँघुरा सडक अहिले कम्तीमा सात मिटर चौडा छन् । ढलसहित निर्माण भएका सडकमा सवारीसाधन निर्बाध सञ्चालन गर्न सकिन्छ भने स्थानीय उत्पादन बजारसम्म ल्याउन कुनै नमस्या नभएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

आर्थिक आयआर्जनको क्षेत्र अन्तर्गत दुई करोड रुपियाँ बजेटमा देवघाटधाममा सुविधासम्पन्न बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणपछि स्थानीय बजार स्थापना र आयआर्जनको बाटो खुल्ने कार्यालयले जानकारी दिएको छ । देवघाटधाममा व्यवस्थित वासपार्क अहिलेसम्म निर्माण भएको थिएन । साउनभरि मेला, माघ महिनामा मेला, नयाँ वर्षमा मेला तथा चाडपर्व तथा अन्य धार्मिक कार्यमा यहाँ मेला लाग्ने गर्छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बसपार्क निर्माणले सवारीसाधन व्यवस्थापन गर्न धेरै सुविधा भएको बताउनुभयो । माघेसङ्व्रmान्ति र साउन महिनामा लाग्ने मेलामा यहाँ सवारीसाधन व्यवस्थापन गर्न ज्यादै कठिनाइ हुने गरेको छ । बसपार्क निर्माणले गर्दा पार्किङ समस्या हटेर गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख शान्तिराज शर्माले बताउनुभयो । मेला तथा पर्वमा भरतपुरको आँपटारीबाट फर्कने र रामनगरको बाटोबाट जाने व्यवस्था मिलाउँदै आएको शर्माले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विकासनिर्माणका पूर्वाधारमा महानगरपालिकाले फड्को मारेको बताउनुभयो । “सडक, पूर्वाधार, सभाहल, खेलकुद मैदान, धार्मिक स्थललगायत यहाँको आवश्यकतालाई ध्यान दिएर काम गरेका छौँ,” प्रमुख दाहालले भन्नुभयो, “व्यवस्थित सहर निर्माणका लागि धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ । त्यसैले एकीकृत विकास अन्तर्गत काम भएको छ ।” गाउँ गाउँमा अहिले फराकिलो बाटो निर्माण भएको छ । त्यसले गर्दा नारायणगढ बजार आउन कुनै समस्या हुने छैन । आफूले उत्पादन गरेको सामग्री नारायणगढ बजार र गाउँमै लाग्ने हाटबजारमा बिव्रmी गर्न सक्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

एकीकृत सहरी पूर्वाधार विकासको काम महालक्ष्मी ओमसत्य जेभीले ठेक्का पाएको थियो । ठेक्कामध्ये एउटा आरतीस्थल निर्माण गर्न स्थान अभाव भएपछि काम हुन पाएको छैन । तोकिएको समयमा कम्पनीले ३८ करोड २० लाख रुपियाँमा निर्माण पूरा गरेको छ । ४१ करोड १९ लाख रुपियाँमा निर्माण सम्झौता गरेपछि निर्माणको ठेक्कामध्ये एउटा स्थान अभावले गर्न नसक्दा भुक्तानी कमी भएको हो ।

प्रतिक्रिया दिनुहोस