आफन्तबाटै बलात्कृत २० बालिकाको दर्दनाक कथा

सोमबार, १० मंसिर २०७५, १४ : ५६
आफन्तबाटै बलात्कृत २० बालिकाको दर्दनाक कथा

छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू 

- लक्ष्मी बस्नेत (खाेज पत्रकारिता केन्द्रका लागि)
काठमाडौं ।  ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’

मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बुढो मान्छेले पनि त्यस्तो गर्छ र !’ भने ।

उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् । मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भनेर कुरा टुंग्याए । तर, बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गरेका थिए ।
आफ्नो कुरा कसैले पनि नसुनेपछि उनले विष खाएर आत्महत्याको प्रयास गरिन् । तर, उनी मरिनन् । अस्पतालको उपचारबाट अलि ठीक भएपछि असोजमा उनी बाबु र हजुरबुबाविरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय काभ्रे पुगिन् । घटना बाहिर आएलगत्तै हजुरबुबाले आत्महत्या गरे । छोरीलाई न्याय दिलाउन उभिनुको साटो आमाले भनिन्, ‘मैले अरू छोराछोरीलाई पनि हेर्नुपर्छ !’

जिल्ला अदालत काभ्रेले उनका बुबालाई १८ वर्ष कैदको फैसला सुनायो । पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दामा सर्वोच्चले पनि जिल्लाकै फैसला सदर ग-यो । बाबु जेल गए, तर आमा पराइ भइन् । राजधानीको एउटा गैरसरकारी संस्थाको संरक्षणमा रहेकी यी बालिका भन्छिन्, ‘आफ्नो भन्ने कोही छैन, जाने ठाउँ कहीँ छैन ।’

******

०६५ सालको कोजाग्रत पूर्णिमाको भोलिपल्ट नुवाकोट, कुवरीकी ११ वर्षीया एउटी बालिका आफन्तहरूका साथ लागेर काठमाडौं बस्ने दिदी भेट्न हिँडिन् । सानैमा आमाबुबा बितेकाले उनी कहिले दिदीकहाँ, कहिले मावलीमा बसेर हुर्केकी थिइन् । उनका साथी थिए दसैँ मान्न घर आएका भिनाजु, भिनाजुका भाइहरू र मामाका छोरा दाइहरू ।

आज काठमाडौं पुगिँदैन भन्दै भिनाजु र दाइहरूले त्रिशूलीमा बस्ने कुरा गरे । होटेलमा उनीसहित सबैजना एउटै कोठामा बसे । राति ती सबैले रक्सी खाए र उनलाई बलात्कार गरे ।

काठमाडौं आएपछि उनले दिदीलाई घटना सुनाइन् । बहिनीलाई न्याय दिलाउन दिदीले प्रहरी गुहारिन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जाहेरी पर्याे, जाहेरीमा पीडित बालिकाले पाँचैजनाले आफूलाई बलात्कार बताएकी छिन् । तर, भिनाजुले आफूले मात्र बलात्कार गरेको सकारेर भाइहरूलाई जोगाउन खोजे । तर पनि अदालतले ती तीनजनालाई करणी उद्योगमा तीन/तीन वर्ष कैद हुने फैसला गर्याे । उनीहरू अहिले सजाय काटेर छुटिसकेका छन् । मामाको छोरो भने घटनादेखि नै भागेकाले फरारको सूचीमा छ ।

यस घटनामा दिदीले बहिनीको न्यायका लागि लडिन् । लोग्नेलाई जिल्ला अदालत नुवाकोटले १५ वर्ष कैदको फैसला गरेपछि सम्बन्धविच्छेद गरिन् । अंश भाग लगाएर दुई छोराहरूको नाममा र आफ्नो भागको अंश पीडित बहिनीको नाममा गरिदिइन् । उनी अहिले छोराहरूलाई होस्टलमा राखेर वैदेशिक रोजगारमा गएकी छिन् । अहिले स्नातक तहमा पढ्दै गरेकी पीडित युवती घटना भएदेखि एउटा गैरसरकारी संस्थाको संरक्षणमा छिन् । उनलाई अहिलेसम्म पिसाब चुहिरहने समस्या छ । खोक्दा र हाँस्दासमेत पिसाब चुहिने हुँदा बाहिर निस्कँदा सधैँ डाइपर लगाउनुपर्छ । दिदीको घरबार बिग्रेकोमा चिन्तित उनी भन्छिन्, ‘अब मेरो जाने ठाउँ कहीँ छैन ।’

******

ललितपुर, गोदावरीकी एक युवतीले अन्तरजातीय प्रेमविवाह गरिन् । विवाहलाई माइतीले स्वीकार नगरे पनि माया गर्ने श्रीमान् थिए, वैवाहिक जीवन राम्रैसँग चलेको थियो । छोरी पनि जन्मिइन् । छोरी जन्मेपछि उनले माइतीको अभाव पनि पूरा भएको ठानिन् ।

०७२ सालको भूकम्पपछिको एक दिन उनको जीवनमा ठूलो बज्रपात भयो । पालमुनि बसेका वेला लोग्नेले नौ वर्षीया छोरीलाई जबर्जस्ती गरेको आफ्नै आँखाले देखिन् । उनले आफूलाई सम्हाल्दै प्रहरीमा उजुरी गरिन् । जिल्ला अदालत, ललितपुरले उनको लोग्नेलाई १० वर्ष कैद ग¥यो । उनले अदालतमा भनेकी छिन्, ‘यस्तो लोग्ने मलाई चाहिँदैन । यो अपराधी आजीवन जेलमै बसेको हेर्ने मन छ ।’

एउटा सुखी घरबार उजाडिएकी उनी अहिले आफन्तकोमा बस्छिन् । ज्याला मजदूरीबाट गुजारा चलाउँछिन् । अहिले १३ वर्ष पुगेकी पीडित छोरी एक गैरसरकारी संस्थाको सेल्टरमा बसेर पढ्दै छिन् । उनी भन्छिन्, ‘सपनाहरू चकनाचुर हुन केही बेर लाग्दो रहेनछ ।’

बाबुबाट सधैँजसो बलात्कृत भइरहँदा पनि दोलखा दुर्गम गाउँकी उनले कसैलाई भनिनन् । नौ कक्षामा पुगेपछि उनी र भाइलाई राम्रो स्कुलमा पढाउने भन्दै बाबुले सदरमुकाम ल्याए र डेरा खोजेर राखे ।

दोलखा आएपछि पनि बाबुको बानी फेरिएन । अति भएपछि एक दिन उनले आमालाई भनिन् । सोधखोज गर्दा बाबुले उल्टै आमालाई झपारे । तर, बलात्कारको क्रम चलिरह्यो । घटनाबाहिर ल्याएपछि पढाइ बिग्रिएला भन्ने सोचेर ०७० सालमा एसएलसी परीक्षापछि उनले यो कुरा बाहिर ल्याउने निधो गरिन् । परीक्षा सकिएको चार दिनपछि जिल्ला प्रशासन कार्यालय पुगेर चिनजानकै एकजना महिला कर्मचारीसँग आफ्नो कुरा खोलिन् । ती महिलाले सिडिओलाई पनि जानकारी गराइन् र प्रहरीमा खबर गरेपछि बाबु पक्राउ परे । जिल्ला अदालत दोलखाले उनलाई १२ वर्ष जेल सजाय र रु. १ लाख जरिबाना गर्ने फैसला गरेको छ ।

बाबु पक्राउ परेको चार/पाँच दिनसम्म उनी घरमै बसिन् । तर, आमाले बयान फेरेर बुबालाई बाहिर निकाल्ने दबाब दिन थालेपछि उनले घर छाडिन् । उनले एउटा गैरसरकारी संस्थाको संरक्षणमा बसेर भर्खरै मात्र कक्षा १२ को पढाइ सकिन् । ‘आमाले घरमै नआइज भन्नुभएको छ, बाबाले मुद्दा पुनरावेदन गरेको छु, उल्टिएपछि तँलाई जानेको छु भनेर खबर पठाएका छन्’ उनले भनिन्, ‘मलाई सरकारले सुरक्षा र गरिखाने काम दिए हुन्थ्यो ।’

******

पर्वतको एउटा गाउँकी उनी अहिले १७ वर्षकी भइन् । १३ वर्षकी हुँदा आफ्नै काकाबाट बलात्कृत भएकी थिइन् । त्यसवेला उनले यो कुरा कसैलाई भनिनन् । सधैँजसो पेट दुख्न थालेपछि एक दिन आमाले अस्पताल पु-याइन् । त्यहाँ उनी गर्भवती रहेको कुरा खुल्यो । यो थाहा पाएपछि आमा बेहोस भइन् । बाबु पहिल्यैदेखि पक्षघातका बिरामी थिए ।

गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । गाउँभर कुरा फैलिएपछि उनलाई गाउँ निकाला गर्ने चर्चा चल्यो । त्यसपछि उनी प्रहरीको सहयोगमा पोखराको एउटा गैरसरकारी संस्थाको सम्पर्कमा पुगिन् । केही समय त्यहाँ बसेपछि उनलाई ‘काउन्सिलिङ’ गरेर घर पठाइयो ।

घर फर्केको थाहा पाएपछि गाउँका केही महिलाहरूले नै ‘यस्तीलाई गाउँमा राख्नुहुन्न’ भन्दै उनलाई उल्टै पिटे । राति नै गाउँ निकाला गर्न लागेपछि एकजना स्थानीय शिक्षकले उनलाई पुनः त्यही संस्थामा पु¥याइदिए । त्यहीँ उनले बच्चा जन्माइन् । अदालतले काकालाई १० वर्ष जेल सजाय सुनाएको छ । ती किशोरी आमा भन्छिन्,‘यो सेल्टर छाडेर कहाँ जाऊँ म अब ?’

आफ्ना सन्तान नभएपछि धादिङकी लक्ष्मी र उनका श्रीमान्ले ०६८ सालमा एक महिनाकी बालिकालाई धर्मपुत्री बनाए । बालिकाले लक्ष्मीको सानो परिवारमा खुसी भित्र्याइन् । २४ वैशाख ०७३ मा मातातीर्थ औँसीमा छोरीलाई घरमा छाडेर लक्ष्मी माइत गइन् । त्यहीवेला उनका लोग्नेले पाँच वर्षीया छोरीलाई बलात्कार गरे ।

३१ वैशाखमा माइतीबाट फर्कंदा छरछिमेकीले यसबारे सुनाए । उनले छोरीलाई सोधिन् । छोरीले पनि ‘हो’ भनेपछि धादिङबेँसी पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । तर, पहिले बलात्कार गरेको आफ्नै आँखाले देखेको बताउने छरछिमेकीले उजुरी दर्ता गरेर फर्केपछि भने ‘हुँदै नभएको कुरामा लोग्नेलाई फसाएको’ भने । लक्ष्मी भन्छिन्, ‘पहिले देखेका हौँ भन्नेहरूले हामीलाई थाहा छैन भने । मेलापर्ममा आउन छाडे । उल्टै मलाई चोरीको आरोप लगाए ।’ लक्ष्मीले आफूमाथि दुव्र्यवहार गर्ने सातजना छिमेकीविरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरी कार्यालयमा भएको छलफलमै केहीले ‘गाउँमा विकृति फैलाएको र यस्तै गरिरहे ज्यान जान सक्ने’ समेत धम्की दिए । प्रहरीले मिलापत्र गरेर पठायो । अचाक्ली भएपछि उनले ०७३ भदौमा गाउँ छाडिन् । अहिले छोरीसहित उनी भक्तपुरमा बस्छिन् ।

जिल्ला अदालत धादिङले ०७३ साउनमा बलात्कारीबाबुलाई ११ वर्ष कैदसजाय सुनाएको छ । छोरी अहिले सात वर्षकी भइन् । लक्ष्मी भन्छिन्, ‘दोषीलाई सजाय त भयो, तर मलाई आफ्नै घरगाउँमा फर्केर जाने अवस्था भएन ।’

******

०७३ सालको कुरा हो । ओखलढुंगा, मानेभन्ज्याङकी १४ वर्षीया बालिका आफन्तले चलाएको एउटा होटेलमा काम गर्थिन् । होटेलमा काम गर्दा गर्दै उनको पेट बढ्न थाल्यो । परिवार गरिब थियो, आमा सोझी थिइन् । अरूले अस्पताल लैजाऊ भनेपछि उनी छोरी लिएर अस्पताल गइन् । बालिका सात महीनाकी गर्भवती भएको थाहा भयो ।

बालिकाका अनुसार त्यही होटेलको गाडी चलाउने ड्राइभर काजी राईले उनलाई बलात्कार गरेको हो । काजीले घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएकाले उनी चुपचाप बसेकी थिइन् । त्यसपछि उनलाई जिल्लाकै ‘सेफ हाउस’मा राखियो । बच्चा जन्मिएपछि उनलाई समाजमा मुख देखाउन समस्या भयो, आमाबाबुकै सहमतिमा केही संघसंस्थाले अहिले उनलाई काठमाडौं ल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय, ओखलढुंगामा काजीविरुद्ध उजुरी परेको छ । प्रहरीले अहिलेसम्म काजीलाई पक्राउ गर्न सकेको छैन । बालिका अहिले १६ वर्षकी भइन्, छोरा दुई वर्षको पुग्न लाग्यो । उनका लागि आफ्नै गाउँघरसमेत बिरानो भएको छ । उनी भन्छिन्, ‘बलात्कारबाट जन्मेको बच्चा लिएर घरजाने आँट छैन, अन्त कहाँ जाऊँ ?’

******

यो चितवनको कथा हो । उनी जन्मेको केही महिनामै आमा अर्को बिहे गरेर हिँडिन् । बाबु ठेक्कापट्टाको काम गर्थे । फेरीफेरी श्रीमती ल्याउँथे । कोही दुई चार महिना बस्थे, कोही दुईचार दिनमै हिँड्थे । एउटीचाहिँ लामै समय बसिन् । छोरी पनि पाइन् । तर, छोरी जन्मिएपछि एक वर्ष नपुग्दै छाडेर गइन् । ती बहिनी उनकै हेरचाहमा हुर्किइन् ।

१२/१३ वर्षकी उनी र सानी बहिनी एउटै कोठामा सुत्थे । एक दिन कोठाको चुकुल बिग्रिएपछि उनले बाबुलाई भनिन् । चुकुल बनाउन कता हो कता, त्यही रात पत्याउन पनि मुस्किल पर्ने घटना भयो । उनले भनिन्, ‘पढेर भर्खर निदाएकी थिएँ, बाबा र दाइ कोठामा पसेर मलाई पालैपालो बलात्कार गरे ।’

बाबु र दाइले निस्कने वेला बाहिरबाट चुकुल लगाइदिए । रोइन्, चिच्याइन् तर कसैले सुनेन । रात छिप्पिँदै गएपछि बल गरेर ढोका तानिन् । बाहिरबाट लगाएको चुकुल खुल्यो । बहिनीलाई त्यहीँ छाडेर उनी भागिन् । जंगलको बाटो हुँदै राति नै मामाघर पुगिन् । मामामाइजूलाई सबै कुरा भनिन् । भोलिपल्ट मामामाइजूले बाबुसँग कुरा गर्ने भनेर लिएर गए । ‘समाज’ बोलाइयो । बाबु र दाइले ‘रक्सी खाएका वेला गल्ती भो’ भन्दै खुट्टा ढोगेर माफी मागे । उनलाई मामाघर नै फर्काइयो । मामामाइजूले झन्डै दोब्बर उमेरको केटासँग बिहे गराइदिए । लोग्नेसँग बस्न नसकेपछि उनी डान्सबारमा काम गर्न गइन् । अहिले गुजाराका निम्ति कलंकीआसपास क्षेत्रमा चल्ने गाडीका यात्रुलाई सामान बेच्ने काम गर्छिन् । ‘मर्छु भनेर दुईपल्ट आत्महत्या गर्न खोजेँ, तर काल आएन’ अहिले १८ वर्ष पुगेकी उनले भनिन्, ‘बाँच्न साह्रै गाह्रो, मर्न पनि सजिलो रहेनछ ।’

******

उनका आमाबुबा दुवै सुस्तमनस्थितिका थिए । आफ्नै ख्याल गर्न सक्दैनथे । त्यसैले आमाबुबासहित भाइ र बहिनीको रेखदेख गर्ने जिम्मासमेत उनकै काँधमा थियो । बाग्लुङको एउटा गाउँमा घर धानेर बसेकी ती आठ वर्षीया बालिकालाई पढाउन भनेर फुपूको घर पठाइयो ।

उनी त्यहीँ बसेर पढ्न थालिन् । एक दिन फुपू घरमा नभएका वेला फुपाजूले उनलाई जबर्जस्ती गरे । घटनाबारे अरूले पनि थाहा पाएपछि फुपाजू पक्राउ परे । ती बालिकालाई गैरसरकारी संस्थाले चलाएको ‘सेफ हाउस’मा ल्याएर राखियो । एक वर्ष त्यहाँ राखेपछि आमाबाबुकै जिम्मा लगाइयो । सुस्त मनस्थितिका बाबुआमाले छोरीलाई चाहिने अभिभावकत्व दिन सकेनन् । आफन्त र छरछिमेकीले ‘घरमा राख्न ठीक नहुने’ सल्लाह दिएपछि उनी फेरि ‘सेफ हाउस’मै पुगिन् । उनी भन्छिन्, ‘बुबाआमा केही गर्न सक्दैनन् । फुपाजु जेल परेपछि फुपूले पनि घरमा नराख्ने भनिन् । अब कहाँ जानु ?’

०७४ मा काठमाडौंमा भएको घटना हो यो । आठ वर्षमा टेकेकी छोरीको दुई दिनपछि जन्मदिन मनाउने तयारी हुँदै थियो । सधैँ स्कुलबाट फर्कने छोरी लिन पुग्ने आमा त्यो दिन भक्तपुर गएकाले फर्कंदा ढिलो भयो । आफू ढिलो हुने भएपछि जेठाजुलाई फोन गरिन् । ओल्लोपल्लो घर भएका जेठाजुले छोरी ल्याइदिने भनेपछि उनी ढुक्क भइन् । तर, साँझ ६ बजे घरपुग्दा छोरी थिइनन् । यताउता खोजिन्, भेटिनन् । जेठाजुको घर पुगेर खोजतलास गर्दा ट्वाइलेटमा बेहोस अवस्थामा थिइन् छोरी । छिमेकीहरू जम्मा भए । अस्पताल पु-याएपछि थाहा भयो उनलाई बलात्कार गरिएको रहेछ । हल्लीखल्ली भएपछि भागिसकेका जेठाजुलाई प्रहरीले एक महिनापछि झापाबाट पक्राउ ग¥यो । अदालतले उनलाई आठ वर्ष जेलसजाय सुनाएको छ ।

गेरुवस्त्र धारण गरेर हिँड्ने, ५४ वर्षीय अविवाहित जेठाजुबाट नाबालिका छोरी बलात्कृत भएपछि उनी प्रहरीमा पुगिन् । तर, उनका लोग्ने भने दाजुको पक्षमा लागे । मुद्दामामिला सुरू भएपछि लोग्नेसँग सम्बन्ध टुट्यो । अहिले उनी डेरा लिएर एक्लै बस्छिन् । छोरीलाई एउटा गैरसरकारी संस्थाको आवासगृहमा राखिएको छ । मान्छे देख्दा पनि तर्सिन्छिन् छोरी । परिवार छिन्नभिन्न भएको छ । उनी भन्छिन्,‘मुद्दा अहिले पुनरावेदन अदालतमा छ, दाजुभाइ लागेर मुद्दा उल्ट्याएरै छाड्छौँ भनिरहेका छन् । छुटेर आए भने के हुने हो थाहा छैन ।’

******

घटना सिन्धुलीको हो । गर्भवती भएका बेला श्रीमान् गुमाएकी १९/२० वर्षीया महिलासँग गर्भको बच्चालाई अभिभावकत्व दिने वाचा गरेर एकजना युवकले बिहे गरे । छोरी जन्मिएपछि उनले त्यो वाचा पूरा पनि गरे । छोरीलाई खुवाउने, नुहाइदिने काम आफैँ गर्थे । आमा घरबाहिरको खेतीपाती, मेलापातमा व्यस्त हुन्थिन् ।

छोरी पाँच वर्ष पुगेकी थिइन् । आमालाई एक दिन उनको शरीर गन्हाएझैँ लाग्यो, तर केही मेसो पाउन सकिनन् । खानामा छोरीको रुचि घट्दै गएपछि र पेट दुखेझैँ गरी रुन थालेपछि उनले अस्पताल पु¥याइन् । त्यसपछि मात्र उनी बलात्कृत भएको, पटक–पटक बलात्कार भएकाले पाठेघरमा घाउ भइसकेको पत्ता लाग्यो । त्यो अपराध तिनै झड्केला बाबुले गरेका थिए ।

ती बालिकाको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं ल्याइयो । आमाले उनलाई एउटा गैरसरकारी संस्थाको संरक्षणमा राखिदिइन् । नौ वर्षदेखि उनी यहाँ बसेकी छिन् । आमा गाउँमै ज्याला–मजदुरीको काम गर्छिन् ।

जिल्ला अदालत सिन्धुलीको आदेशले १० वर्ष जेल सजाय पाएका झड्केला बाबु जेलबाट छुट्ने वेला भइसक्यो, तर, आमा र छोरी विक्षिप्त अवस्थामा छन् । छोरीको स्वास्थ्य दयनीय छ । महिनावारी तीन÷चार महिनामा एकपटक हुन्छ र १५÷२० दिनसम्म रगत बगिरहन्छ । घाउ सन्चो नभएपछि डाक्टरले पाठेघर नै फाल्नु उचित हुने सल्लाह दिएका छन् ।

******

बाबुले दोस्रो बिहे गरेर भारततिर हिँडेको केही महिनामै आमा पनि घर छाडेर हिँडेपछि सुर्खेत वीरेन्द्रनगरकी ११ वर्षिया बालिका भाइ र बहिनीको अभिभावक बनिन् । कहिले छिमेकीसँग हात पसारेर, कहिले घाँस–दाउरा बेचेरै भाइबहिनीसहित आफ्नो पेट पाल्ने जोहो गरिन् । त्यति गरेर पनि उनले पढ्न छाडेकी थिइनन् । आफू नौ कक्षामा पढ्थिन्, बहिनी र भाइ क्रमशः ५ र २ कक्षामा पढ्थे ।
०७५ जेठ अन्तिम साताको कुरा हो । घरबाट केही टाढा माइजू नाता पर्नेको घर पुगेर फर्कंदै थिइन् । झमक्क साँझ परिसकेको थियो । जंगलको बाटो छिचोल्दै गर्दा एक्कासि दुईजना केटाले बाटो छेके । उनका दुवै हात समाते र पालैपालो बलात्कार गरे । सकीनसकी राति १० बजे घर आइपुगिन् ।

घटनाबारे थाहा पाएपछि चिनजानकी एकजना आन्टीले उनलाई प्रहरीचौकीसम्म पु-याइन् । प्रहरीले उनलाई स्थानीय गैरसरकारी संस्थाको आवासगृहमा पु-याइदियो । अहिलेसम्म पनि उनी त्यहीँ बस्छिन् । उनलाई आफ्नोभन्दा भाइबहिनीको पिरलो छ । भन्छिन्, ‘भाइबहिनी भोकभोकै छन् होला !’ उनलाई बलात्कार गर्नेहरू अहिलेसम्म समातिएका छैनन् ।

******

सात वर्षकी छँदा आमाको मृत्यु भएपछि सुर्खेत, वीरेन्द्रनगरकी उनी मामासँग बसिन् । उनीसहित तीनैजना छोराछोरीलाई मामाघर छाडेर उनका बाबु कामको खोजीमा भारत गएका थिए । मामाघरमै हुर्केकी उनीमाथि मामाकै कुदृष्टि प-यो । उनले पटक–पटक बलात्कार गरे । १६ वर्षकी भतिजीको आनीबानीमा अचम्मको फेरबदल देखेपछि एक दिन फुपूलाई शंका लाग्यो । सोधखोज गरेपछि थाहा भो, उनी गर्भवती रहिछन् ।

फुपूले प्रहरीमा उजुरी गरिन् । ६ महिना पुगिसकेकाले गर्भपतन गर्न मिलेन । प्रहरीले उनलाई गैरसरकारी संस्थाको आवासगृहमा पठाइदियो । गर्भवती उनी अहिले कोहीसँग बोल्दिनन् । स्थानीय आवासगृहकी व्यवस्थापक धना जिसीले भनिन्, ‘उनलाई ठूलो असर परेको छ, प्रायः बेहोसीमै बर्बराउँछिन् ।’ बलात्कारको अभियोग लागेका मामाचाहिँ फरार छन् ।

******

गुर्भाकोट, सुर्खेतकी उनको १४ वर्षकै उमेरमा विवाह भएको थियो । वैवाहिक जीवन राम्रैसँग बितिरहेको थियो । छोरो पाएपछि एक दिन श्रीमान्ले कुटे । केही समय माइत बसेर आउँछु भनेर उनी माइत आइन् । तर, माइती घरमा सुतेका वेला गाउँकै शम्भु घर्तीले उनलाई बलात्कार गरे ।

उनका आमाबाबु इज्जतको डरले यो घटना गाउँमै मिलाउन चाहन्थे । तर, शम्भुको परिवारले उल्टै धम्क्याएपछि उनीहरूले प्रहरीमा उजुरी गरे । त्यसपछि शम्भु पक्राउ परे । उता पीडित महिलाका श्रीमान्ले यो घटना थाहा पाएपछि सम्बन्ध टिकेन । ‘अब त्यो घरमा बस्न सकिन्न भनेर मैले पनि सम्बन्धविच्छेद नै रोजेँ’ उनले भनिन्, ‘तर, सम्पत्ति केही लिएकी छैन ।’ शम्भु तीन महिनादेखि जिल्ला कारागार सुर्खेतमा छन् । शम्भुको परिवार उनलाई छुटाउन अनेक प्रयास गरिरहेको छ ।

माइतीमा घाँस–दाउरा गरेर चार वर्षको छोरो हुर्काइरहेकी उनी नातागोता र समाजको तिरस्कारले थप आहत छिन् । ‘भाइबहिनी नै तैँले गर्दा हाम्रो पनि इज्जत गयो भन्छन्’ उनी भन्छिन्, ‘सहारा ठानेको माइतीमै छिःछिः र दुरदुर भएपछि कहाँ जाऊँ ?’

******

म्याग्दीको मालिका गाउँपालिकाको घटना हो, यो । ०७५ भदौको शनिबार विद्यालय बिदा भएकाले १२ वर्षीया छोरी र ५३ वर्षका लोग्नेलाई घरमा छाडेर आमा काममा गएकी थिइन् । त्यही दाउ छोपेर बाबुले छोरीलाई बलात्कार गरे । घटनाको बारेमा थाहा पाएपछि सबैभन्दा पहिले आमाले वडाध्यक्षलाई सुनाइन् । उनको सल्लाहमा ती बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय, दरवाङमा जाहेरी दिए ।

प्रहरीले तत्कालै बलात्कारी बाबुलाई पक्राउ ग-यो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । तर पीडकका दाजुभाइ, आफन्तहरूले ‘घटना मिलाउनुपथ्र्यो, दाजुभाइसँग सल्लाह नै नगरी घटना प्रहरीमा पठायो’ भनेर वडाध्यक्षलाई अहिले पनि भन्ने गरेका छन् । अहिले त्यो मुद्दा जिल्ला अदालत, म्याग्दीमा चलिरहेको छ । छोरी गाउँमै पढिरहेकी छिन् ।

******

नवलपरासी गैँडाकोटको घटना हो । ०७४ साल चैतमा बाबुले आठ महिने नाबालिका छोरी बलात्कार गरे । करिब ३० वर्षीय ती पुरुषले आफू काममा गएका वेला छोरीलाई बलात्कार गरेको भनी पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । एक होटेलमा काम गर्ने उनी घरमा श्रीमान्लाई नानी छाडेर काममा गएकी थिइन् । तर, छिमेकीले ‘तिम्रो बच्चा साह्रै रोयो’ भनेर आफैँलाई खबर गरेपछि घर जाँदा घटना थाहा भएको उनले बताएकी छिन् ।

इलाका प्रहरी कार्यालय, गैँडाकोटले जाहेरी दर्ता भएलगत्तै बाबुलाई पक्राउ ग¥यो । १० वर्षमुनिको बालिकालाई गरेको करणी र हाडनाता करणीसमेत गरी कैद सजायको माग गरिएको पीडितको तर्फबाट मुद्दा हेर्न सहयोग गर्दै आएको संस्थाले बताएको छ । जिल्ला अदालत नवलपरासीको आदेशले ती बाबुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । यो मुद्दा हेरिरहेका एकजना कानुन व्यवसायीका अनुसार, श्रीमान्विरुद्ध मुद्दा हालेकी ती आमालाई मुद्दा गर्नु कि छोरी हुर्काउनु भएको छ ।

******

०७४ साल चैत २८ गते  साँझपखको कुरा हो । जनकपुर उपमहानगरपालिकाको एउटा गरिब परिवारकी १६ वर्षीया छोरी अरूको घरमा काम गरेर फर्किरहेकी थिइन् । बाटोमा दुईजनाले उनलाई समातेर नजिकैको एउटा घरमा लगेर सातजनाले रातभरि बलात्कार गरे ।

ती बालिकाका अनुसार, बलात्कारीले बिहान हुन लागेपछि उनलाई घरछेउमा लगेर छाडिदिए । कहिलेकाहीँ काम गर्ने घरमै पनि रात बस्ने गरेकाले घरमा सोधखोज भएन । उनलाई ती बलात्कारीहरूले घटना कसैलाई नभन्नु र भने परिवारै सिध्याइदिने भनेर धम्की दिएका थिए । तर, दुई दिनपछि एकजना दिदी पर्नेलाई त्यो कुरा भनेपछि उनकी हजुरआमाले ‘प्रहरीमा जानुपर्छ’ भनिन् । घटनाको चार दिनपछि जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दर्ता भयो ।

बलात्कारमा संलग्न सातमध्ये तीन जना सुमन पाण्डे, धनिकलाल साह र राहुल भनिने ओजिर हुसैन अहिले पुर्पक्षका लागि थुनामा छन् भने रन्जितकुमार साह (महोत्तरी) र सिद्धार्थ दास (धनुषा) फरार छन् । अरू दुईजना पीडितले पनि चिनेका थिएनन् र प्रहरीले पनि पत्ता लगाउन सकेको छैन । हाल काठमाडौंको एक संस्थाको संरक्षणमा बसिरहेकी ती बालिकालाई उनको घरमा पुनस्र्थापना गर्न समस्या छ । त्यही भएर परिवारले पनि यतै बसेर पढोस् भन्ने चाहेको छ । घर फर्केमा ती बालिकालाई जुनसुकै वेला आक्रमण हुन सक्ने पीडित परिवारका सदस्यहरू बताउँछन् । पीडकहरू पाण्डे, साह र हुसैनले आफूहरूलाई थुनामा राख्नु नपर्ने भनेर पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन गरेका छन् ।

******

रौतहटको गुजरा नगरपालिकाकी एक बालिका ०७४ वैशाखमा एकाएक हराइन् । परिवारले तत्कालै प्रहरीमा खबर ग¥यो । तर, प्रहरीले दुई महिनासम्म किशोरी कहाँ छिन् भनेर पत्ता लगाउन सकेन । अपहरणमा परेकी किशोरी करिब दुई महिनापछि फेला परिन् । त्यसपछि किशोरीलाई अपहरण गर्ने मुख्य योजनाकार स्थानीय औषधिपसले बलिष्टर चौधरी पक्राउ परे । चौधरीलगायतले ती किशोरीलाई वीरगन्जमा कोठा लिएर बन्धक बनाएर राखेका थिए ।

इलाका प्रहरी कार्यालय, गरुडाका अनुसार, १३ वर्षीया ती बालिकाले क्रमशः ३५, २४ र १९ वर्षका बलिष्टर चौधरी, धमेन्द्रकुमार चौधरी र जियालाल महतोले आफूलाई पटक–पटक बलात्कार गरेको बताएकी छिन् । तीनैजनालाई पुर्पक्षका लागि थुनामा राखेर अपहरण, शरीर बन्धक र बलात्कारमा जिल्ला अदालत, रौतहटमा मुद्दा चलिरहेको छ ।

तर, मुद्दा फिर्ता लिन किशोरीका बाबुआमालाई पटक–पटक धम्की आएकाले उनीहरूसमेत काठमाडौंमा बस्न थालेका छन् । सानोतिनो व्यापार गरेर बसेका उनीहरूको पारिवारिक जीवन चौपट भएको छ । किशोरीका बाबु भन्छन्, ‘छोरीको जीवन पनि बर्बाद भयो, हाम्रो अवस्था पनि बर्बाद भयो ।’

******

०७५ जेठको कुरा हो, पाँचथर फिदिमकी एक १४ वर्षीया बालिकालाई छिमेकीले बलात्कार गरे । गरिब परिवारकी उनी तीनजना दिदीबहिनी र एक भाइसहित आमासँग बस्थिन् । बाबुले पहिले नै छाडेर हिँडेका थिए । छिमेकीले मोटरसाइकल चढाएर घर पु-याइदिन्छु भनेर जंगलमा लगेर बलात्कार गरेका थिए ।

केही दिनमै पीडक पक्राउ परे । उनलाई जिल्ला अदालत, पाँचथरले १० वर्षको कैदसजाय हुने फैसला गरेको छ । तर, उनले बाहिर निस्किएपछि ‘खसीबोका जसरी काट्छु’ भन्ने धम्कीका खबर जेलबाटै पठाइरहेका छन् । पीडित परिवारलाई छरछिमेकले सहयोग त गरेका छन्, तर आमालाई अरू छोरीहरूको चिन्ता छ । संस्थाले पुनस्र्थापना गर्ने तयारी गरे पनि ती बालिका डरले घर जान चाहेकी छैनन् । गएको दसैँमा घर पठाउँदा पनि उनी डरले फेरि काठमाडौं आएकी छिन् ।

******

तीन वर्षअघि स्याङ्जाको एउटा गाउँको घरमा हजुरबा, आमा र नातिनी बस्थे । नातिनी ६ वर्षकी हुँदा आमा घर छाडेर हिँडिन् । उनको हेरचाह र स्याहारसुसार ७० वर्षीय वृद्ध हजुरबाको जिम्मामा पुग्यो । ती बालिकाले स्कुलमा सधैँ पेट दुख्यो भनेर गुनासो गर्न थालेपछि शिक्षिकाले सोधखोज गरिन् । फकाएपछि केही कुरा बालिकाले आफैँ खोलिन् । स्वास्थ्य परीक्षणपछि हजुरबाले करिब ६ महिनादेखि उनलाई बलात्कार गर्दै आएको पत्ता लाग्यो ।

हजुरबाविरुद्ध जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा जाहेरी दर्ता भयो । उनी पक्राउ परे । एक वर्षपछि अदालतले उनलाई १० वर्ष कैद हुने फैसला सुनायो । पीडित बालिकालाई अहिले पोखरास्थित एउटा गैरसरकारी संस्थाले चलाएको ‘सेफ हाउस’मा राखिएको छ । तर, सो संस्था आफैँ समस्यामा परेको छ । संस्थाका एकजना प्रतिनिधि भन्छन्,‘उनलाई पठाउने ठाउँ र जिम्मा लगाउने व्यक्ति नै छैन ।’

जो पीडित उही दोषी !

बलात्कारका पीडितहरूलाई परिवार र समाजमा पुनस्र्थापित हुन सजिलो छैन । समाजले पीडितलाई नै दोषी देख्छ, छिःछिः र दुरदुर गर्छ । डेढ दशकयता बलात्कार पीडितका लागि काम गरिरहेको गैरसरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाका अनुसार प्रायः पीडितले घर छाडेकै हुन्छन्, परिवारमा पुनस्र्थापित हुनेहरू २० प्रतिशत पनि हुँदैनन् ।

बलात्कार पीडितहरूले चाहेर पनि पीडा भुल्न पाउँदैनन् । प्रहरी र वकिलसित घटनाको बयान दिनुपर्छ । न्यायाधीशलाई त्यसबारे जवाफ दिनुपर्छ । विपक्षी वकिलले सोध्ने ‘असंवेदनशील’ प्रश्नको जवाफ दिँदा पीडितहरूले पटक–पटक बलात्कारमा परेझैँ महसुस गर्नुपर्छ ।

१० वर्षदेखि बलात्कृत बालिका र किशोरीहरूलाई मनोपरामर्श दिइरहेकी गीता न्यौपाने उपचार वा परामर्शपछि पनि बलात्कार पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहने बताउँछिन् । परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूले पीडा कम हुने उनको अनुभव छ । भन्छिन्,‘तर, प्रायः पीडितले परिवार र आफन्तको साथ पाउँदैनन् ।’

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहकी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. देवी गुरुङले अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने एक हजारभन्दा बढी बलात्कारपीडितको जाँच गरिसकेकी छिन् । ‘सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पिसाब र पाठेघरमा संक्रमण तथा पिसाब नरोकिने पीडितको आमसमस्या’ भएको उनले बताइन । उनका अनुसारपाठेघरमा संक्रमण भएर समयमै उपचार नभएमा फेलोपियन ट्युब बन्द हुने र पछि गर्भ नबस्ने सम्भावना पनि हुन्छ भने सानो उमेरका र सामूहिक बलात्कारमा परेकाहरूमा यस्तो समस्या बढी हुन्छ ।

थापाले दिएको दृष्टान्त अझ गम्भीर छ । चिकित्सकहरूले बताएअनुसार रक्षा नेपालको सेल्टरमा रहेका ७० जना बलात्कार पीडितमध्ये करिब आधाजति भविष्यमा आमा बन्नै नसक्ने अवस्थाका छन् । हाडनाता करणीपीडित बालिकाहरूका निम्ति कार्यरत संस्था, अन्तरदृष्टि नेपालकी अध्यक्ष विनीता दाहालका अनुसार, समाजले जो पीडित हो, उसैमाथि दोष थोपर्छ । परिवारभित्रको हाडनाता करणीमा घटना लुकाउने र मुद्दा दर्ता नगर्ने कुरा सामान्यझैँ हुन्छ । उनी भन्छिन्,‘बलात्कृत बालिका किशोरीका आमाले घरपरिवार त्याग्न तयार नभए मुद्दा नै चल्दैन । छोरी बलात्कार गर्ने श्रीमान्लाई जोगाउने कि छोरीका निम्ति श्रीमान्विरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू ।’

दाहालको भनाइमा, ‘यस्ता घटनालाई सकेसम्म परिवार, समाजमै दबाइन्छ । मुद्दामामिला भइहाले हत्तपत्त फैसला हुँदैन । फैसला भयो, सजाय तोकियो भने अभियुक्त जेलमा त पुग्छन्, तर पीडितलाई आफ्नै परिवार र समाजले बसिखान दिँदैन ।’

(साथमा सुर्खेतबाट लक्ष्मी भण्डारी)
(पीडितको परिचय नखुलोस् भन्नेमा ध्यान दिँदा धेरै ठाउँमा घटनाको पृष्ठभूमि र पीडकको परिचयसमेत लुक्न पुगेको छ । जिल्ला प्रहरी कार्यालयहरू, जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका मिसिलबाट यी घटनाहरू लिइएका हुन् ।)

 

प्रतिक्रिया दिनुहोस