काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
आज आफ्नो निर्वाचन क्षेत्र झापा-५ का मतदाता सामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमालेलाई सिद्ध्याउन आगो लगाएको भए पनि पहिलो पार्टी बन्ने बताए।
उनले भने, ‘एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यतीका लागि त हामी हतार नै गरेका थिएनौँ त। हामी त ८४ पर्खिराख्या थियौँ। तर हामीलाई पहिलो पार्टी हुने मौका मिल्ने भयो। यतीका लागि यत्रो आगो किन लगाउनु पर्थ्यो ? एमाले सिद्ध्याउन आगो लगाए, एमाले पहिलो पार्टी हुन्छ। त्यो मैले भन्ने गरेको छु। एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, कान खोलेर सुने हुन्छ, एमाले आउँदो निर्वाचनमा पहिलो पार्टी हुन्छ।’
उनले बहुमत ल्याएन भने पनि पहिलो पार्टी बन्ने जिकिर गरे। उनले थपे, ‘देशमा अराजकता मच्चाउने, आगजनी गर्ने, राज्यको सम्पत्ति आगजनी गर्ने, तोडफोड गर्नेलाई नेपाली हुँ भन्न पनि सरम हुनु पर्दछ। अर्काको सम्पत्ति लुटपाट गरेर, लुटेर जीविका चलाउने नेपाली जाति होइन। नेपाली गरी खाने जाति हो, लुटेर खाने जाति होइन। नेपाली शान्तिप्रिय जाति हो, आगो लगाउँदै कुद्ने जाति होइन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ फागुन २०८२, २० : ३८
लेखकबाट थप