राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक्न माग

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०८२, १५ : ५१
राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक्न माग

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने तर्क गरिन् ।उनले ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरिन् ।

‘गणतन्त्रको प्रतीकको रूपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायौँ । हामीले मधेश, महिला, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायौँ । जनताका छोराछोरीहरू राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ,’ उनले भनिन्, ‘उहाँहरू राजनीतिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ ।’

उनले थपिन्, ‘जनसमुदायहरूले विभिन्न तर्क, वितर्कहरू गरिरहेका छन् । कतिपय समस्याहरू छन् । एउटा सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन ।’

सांसद बेलवासेले आइन्दा त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न माग गरिन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किइसकेका छन् ।