चालु आर्थिक वर्ष घर्किन लाग्यो, विकास बजेट आधा पनि भएन खर्च

सफल खबर संवाददाता

विहीबार, १९ असार २०८२, १३ : ५९
चालु आर्थिक वर्ष घर्किन लाग्यो, विकास बजेट आधा पनि भएन खर्च

 काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आव विकासतर्फ अर्थात् पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा १८ असारसम्म १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ ।

यो खर्च विनियोजन बजेटको तुलनामा ४६.५९ प्रतिशत हो । यो गत आव २०८०/८१ मा भन्दा पनि कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । महालेखाका अनुसार गत आव सरकारले ३ खर्ब २ अर्बको पूँजीगत बजेट ल्याएको थियो । गत आव १८ सम्ममा पूँजीगत बजेट ४८.५७ प्रतिशत खर्च गरिसकेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार देशमा हुँदा पनि विकासको गति अझै पनि सुस्त रहेको तथ्यांकले देखाएको छ ।

विकास खर्चमा भन्दा बरु सरकारले चालु आव अहिलेसम्म ऋणको साँवा–ब्याजसहित दायित्व भुक्तानीमा ठूलो रकम खर्च गरेको तथ्यले देखाउँछ । महालेखाका अनुसार चालु आव विकास बजेटभन्दा पनि ज्यादा अर्थात् ३ खर्ब ६७ अर्ब बजेट ऋणको दायित्व व्यवस्थापनमा छुट्याएको थियो । जसअन्तर्गत अहिलेसम्म विनियोजित बजेटमध्ये ३ खर्ब ११ अर्ब बजेट ऋणको साँवा–ब्याजसहित खर्च सरकारले गरिसकेको छ । अर्थात्, उक्त शीर्षकमा छुट्याइएको बजेटमध्ये करिब ८६ प्रतिशत खर्च भइसकेको छ ।

चालु आवको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्दा कुल बजेट करिब ७५ प्रतिशत खर्च भइसकेको छ । यो आवका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो तर मध्यावधि समीक्षा मार्फत तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब २ खर्बले घटाएका थिए ।

चालु बजेटको सबैभन्दा बढी चालु खर्च भएको छ । ११ खर्ब ४० अर्ब यो शीर्षकमा विनियोजन गरिएकोमा अहिलेसम्म करिब ८२ प्रतिशत खर्च भइसकेको छ । चालु बजेट खासगरी विकास निर्माणका कामभन्दा कर्मचारीको तलब, भत्ता, कार्यालय सञ्चालन जस्ता प्रशासनिक काममा खर्च हुने गरेको छ । प्रत्येक वर्ष यस्तो खर्च भारी दरमा बढ्दै गइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस