काठमाडौँ । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स्ए (फएफडि-४)’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसंघय दिगो विकास लक्ष्यका लागि अन्तराष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण भएकाले प्रधानमन्त्री ओलीबाट भ्रमण हुन लागेको बताए ।
प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका काम पूरा भएको जनाउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताए।
प्रवक्ता क्षेत्रीले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा विकसित मुलुक र विकासशील एवं कम विकसित मुलुकबीचको सर्वाधिक महत्वको सम्मेलन भएकाले त्यहीअनुरूप उच्च प्राथमिकता र उच्चस्तरीय सहभागिता महत्त्वपूर्ण हुने जनाए ।
नेपालले हाल अल्पविकसित मुलुकहरूको अन्तरराष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेको अवस्थामा नेपालको छुट्टै भूमिका हुनेसमेत बनाए ।भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नुहुनेछ भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नेछन् ।
यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली असार १४ गते शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे फर्कने तालिका छ । नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपेली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।
कूल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । काठमाडौँबाट २१, स्पेन र न्युयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।
भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै, यस्तो छ तालिका
प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली
ग्वार्को फ्लाइओभरको उद्घाटन, प्रधानमन्त्रीले भने-‘देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ’