काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र संगीतमा रहेको विविधताले नेपाली समाजलाई एक ढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन्।
नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको बताएका हुन् ।
उनले नेपालजस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि संगीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताए ।
राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोक जीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे। उनले हाम्रो कला, संस्कृति, संगीत र नाट्यको संरक्षण, प्रवर्द्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले भने-‘‘यसतर्फ सरकार मात्र होइन विश्वभर छरिएका नेपालीहरूको म ध्यानाकृष्ट गर्न चाहन्छु । म चाहन्छु, भविष्यमा नेपाली संगीत र नाटक विश्वभरि बजून्, प्रदर्शन होउन् र नेपाल सांगीतिक तथा नाट्य रूपमा विश्व चिन्तनको एउटा केन्द्र बनोस् ।’’
राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठान जस्ता विभिन्न विधागत प्रज्ञाप्रतिष्ठान स्थापना हुन सम्भव भएको बताए ।
उनले समय र समाज गतिशील भएजस्तै समय र समाजको ढुकढुकी प्रतिबिम्बित हुने गीतसंगीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताए । उनले भने-‘‘साँच्चिकै भन्नुपर्दा कला र संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो । हाम्रो मौलिक कला र सृजना नेपाल र नेपालीलाई विश्वभर चिनाउने एउटा सशक्त माध्यम भएकाले यसको विकास एवम् प्रतिभाको सम्मानमा राज्यले कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाई लाग्दछ ।’
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संगीत तथा नाट्य दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दीप श्रेष्ठलाई, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापा, संगीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेद कुमारी न्यौपाने, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेललाई, लोकसंगीत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यवादन विधातर्फ वरिष्ठ वाद्यवादक राजु अग्रवाललाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
‘मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ’ : राष्ट्रपति पौडेल