काठमाडाैं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभांशु शुक्लासँगै १ अर्ब ४० करोड भारतीयको शुभकामना, आशा र आकांक्षा समेत अन्तरिक्षमा गइरहेको बताएका छन् ।
बुधबार भारत, हंगेरी, पोल्यान्ड र संयुक्त राज्य अमेरिकाका अन्तरिक्ष यात्रीहरूलाई बोकेर अन्तरिक्षमा प्रक्षेपण गरिएको मिसनलाई शुभकामना दिँदै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । मोदीले शुक्लासहित सम्पूर्ण अन्तरिक्ष यात्रीहरूको सफलताको कामना समेत गरेका छन् ।
भारतीय वायु सेनाका समूह कप्तान शुभांशु शुक्ला ४० वर्षपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) यात्रा गर्ने पहिलो भारतीय बनेका छन् । उनले स्पेसएक्सको ड्र्यागन विमानमार्फत प्रक्षेपण गरिएको अक्सियम–४ मिसनका लागि अन्तरिक्ष यात्रा गरेका हुन् ।
शुक्ला नेतृत्वको अन्तरिक्षयान बुधबार (२०२५ जुन २५) दिउँसो १२:०१ बजे सफलतापूर्वक प्रक्षेपण भएको छ । विभिन्न प्राविधिक कारणले पटकपटक स्थगित गरिएको उडान यसपटक सफल भएको हो ।
उत्तर प्रदेशको राजधानी लखनउमा १९८५ अक्टोबर १० मा जन्मिएका शुक्ला हाल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को गगनयान मिसनका लागि छनोटमा परेका चार अन्तरिक्ष यात्रीमध्ये एक हुन् ।
भारतीय वायुसेनाको लडाकु स्क्वाड्रनमा २००६ जुनमा नियुक्त भएका शुक्लासँग सु–३० एमकेआई, मिग–२१, मिग–२९, जगुआर, हक, डोर्नियर र एन–३२ जस्ता विभिन्न विमान उडाएको गरी २,००० घण्टाभन्दा बढीको उडान अनुभव छ । उनी अनुभवी युद्ध नेतृत्वकर्ता तथा परीक्षण पाइलट पनि हुन् ।
शुक्लासँगै अमेरिकी अन्तरिक्ष यात्री तथा मिसन कमान्डर पेगी ह्विटसन, पोल्यान्डका स्लावोस उज्नान्स्की विश्वनेव्स्की र हंगेरीका तिबोर कापु अक्सियम–४ मिसनमा सहभागी छन् ।
प्रक्षेपणअघि शुभांशु शुक्लाले आफ्नो मिसनले भारतका युवाहरूलाई प्रेरणा मिल्ने आशा व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यदि मेरो कथाले एक जनाको जीवन परिवर्तन गर्न सके पनि, त्यो मेरो लागि ठूलो सफलता हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको भ्रमणले भारत-मोरिसस सम्बन्धमा नयाँ उचाइ थपिएको दाबी