बजेट तर्जुमा तथा कार्यक्रम समितिद्वारा बालेनको ध्यानाकर्षण

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १३ : २९
बजेट तर्जुमा तथा कार्यक्रम समितिद्वारा बालेनको ध्यानाकर्षण

काठमाडौँ । ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०) मै बजेट ल्याए पनि काठमाडौं महानगरपालिका भने निर्धारित मितिमा बजेट ल्याउन चुकेको छ ।

यससँगै बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र (बालेन) साहको ध्यानाकर्षण गराएको छ । मंगलबार राति अनौपचारिक बसेको बजेट तर्जुमा समितिले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । साथै बुधबार औपचारिक रूपमा शाहलाई ध्यानाकर्षण गराएको समितिले जनाएको छ ।

मेयरले आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न समेत पहल नगरेपछि काठमाडौँ महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप बजेट तर्जुमा समितिले लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले काठमाडौं टावरको तला थप्न स्वीकृत दिएको आरोप लगाएर मेयर साहले कार्यालय प्रवेशमै रोक लगाएका थिए । त्यसपछि विवाद चुलिएको हो ।

संघीय सरकारले प्रमुख शासकीय अधिकृतलाई अन्यत्रै सरुवा नगरी काठमाडौँमै राखेसँगै बालेन र संघीय सरकारबीच यतिबेला ‘इगो’को लडाइँ छ ।

 

प्रतिक्रिया दिनुहोस