राज्य व्यवस्था तथा सुशासन समिति

समितिबाट सर्वसम्मत पारित विधेयकमा चलखेल नगर्न प्रचण्डको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १३ : २३
समितिबाट सर्वसम्मत पारित विधेयकमा चलखेल नगर्न प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुञ्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी विधेकयमाथिको छलफलमा भाग लिँदै उनले सरकार र संसदीय समितिको ध्यानाकर्षण गराएका हुन् ।

समितिका सदस्यसमेत रहेका प्रचण्डले प्रतिनिधिसभाको कार्यसूचीमा चढेर पनि कार्यसूचीबाट हटाइएको संघीय निजामती सेवा विधेयकतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘संसदीय समितिबाट सदनमा पुग्ने बेलासम्म धेरै चलखेल हुने गरेका छन् । अहिले पनि असाध्यै बढी चिन्ता छ, देशको राजनीतिक परिस्थितिलाई हेरेर केही महत्वपूर्ण विधेयक, जो धेरै मेहनत गरेर सदनमा पुर्‍याएको र समितिमा पुर्‍याएर पारित पनि गरिएको छ । सदनमा चढेर पनि कार्यसूचीबाट हटाउने कुरा एकदमै चिन्ताको विषय बनेको छ ।’

प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सत्तारुढ दलसँग साझेदार गर्नुको एउटा मुख्य कारण पनि यही भएको बताए । उनले संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक धेरै मेहनत गरेर सदनमा ल्याइएको बताए ।

उनले भने, ‘विद्यालय शिक्षा विधेयक पनि असार १५ गतेसम्म ल्याइन्छ भनेर प्रतिबद्धता सरकारले जनाएको थियो । मैले नै यी विधेयक सदनमा पु¥याउन ठूलो मेहनत गरेको छु र धेरै संवेदनशील विधेयक हुन् । कतै फेरि यतिकै टारिने त होइन भनेर चिन्ता लागिरहेको छ । सरकारको पनि ध्यानाकर्षण गराइरहेको छु । त्यसो गर्न खोजिएको हो भने त्यसो नगरियोस् । समितिबाट सर्वसम्मत पारित भएका विधेयक सदनमा ठीक ढंगले प्रस्तुत भएर पारित हुनेतर्फ समितिका सभापति र मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रचण्डले प्रहरी विधेयक अधिकतम परिमार्जनसहित पारित गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘अधिकतम परिमार्जनसहित पारित गर्नेतर्फ सबैको ध्यान जानेछ । यो विधेयक धेरै कुरा यस अघिका भएका छलफललाई सम्झिँदा ख्याल गर्नुपर्नेछ । यसलाई परिमार्जन गर्ने र लामो समयलाई विचार गरेर पारित गर्नुपर्छ । कहिले सर्वसम्मतबाट त कहिले बहुमतले पारित गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस