कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १६ : २९
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेसालाई सम्मानित बनाउँदै देशको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्न व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको ’राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान’ कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि अध्ययन, अनुसन्धान र प्रसारलाई एकसाथ अघि बढाएर मात्र यस क्षेत्रको रूपान्तरण सम्भव हुने बताए ।

“कृषि मूलम् त जीवनम्,“ भन्ने पुरानो उक्तिलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलले नेपालको जीवन नै कृषिमा आधारित भएको बताए । विगतमा अशिक्षित र गरिब परिवारको पेसाका रूपमा हेरिने कृषिले अहिले आफ्नो परिचय फेरेको उनको भनाइ थियो। ’अहिले शिक्षित युवा वर्ग र उच्च आय भएका परिवारले पनि कृषिलाई मुख्य पेसा बनाई लाखौँ आम्दानी गरिरहेका छन्, यो सुखद परिवर्तन हो,’ उनले भने ।

राष्ट्रपति पौडेलले कृषि क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत योगदान दिएको र ६५ प्रतिशत परिवार यही पेसामा आबद्ध रहेको तथ्याङ्क प्रस्तुत गर्दै यसको अथाह सम्भावनालाई अझै उपयोग गर्न नसकिएको बताए ।

वैदेशिक रोजगारीमा गएका युवा शक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा उनले जोड दिए । “हामीले हाम्रा पौरखी हातहरूलाई देश विकासको संवाहकका रूपमा उपयोग गर्न सक्ने प्रचुर सम्भावना कृषिमा छ,“ उनले भने ।

राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि सरकार र नीति निर्माताले ध्यान दिनुपर्ने बताए । उनले किसानका उत्पादनको बजारीकरण, समयमै मल–बीउको उपलब्धता, सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था, र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

हालै प्रकाशित चौथो जीवनस्तर सर्वेक्षणअनुसार नेपालमा ५९ लाख जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले ती जनसमुदायलाई गरिबीबाट बाहिर निकाल्ने सबैभन्दा शक्तिशाली माध्यम कृषि नै भएको बताए ।

भुइँ मान्छेलाई न्याय र विपन्नलाई आयको व्यवस्था गर्न कृषि, पर्यटन र जलस्रोतको विकास अपरिहार्य रहेको राष्ट्रपति पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस