ओलीमाथि कांग्रेसको कडा दबाब : गठबन्धन नछोड्ने तर माग पूरा गराउने रणनीति

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, ०८ : ३६
ओलीमाथि कांग्रेसको कडा दबाब : गठबन्धन नछोड्ने तर माग पूरा गराउने रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खुट्टा टेकाउने मुख्य पिल्लर नेपाली कांग्रेसले सत्ताबाट बाहिरिने संकेत नगरी तर सरकारभित्रै बसेर आफ्ना एजेन्डा प्रभावकारी ढंगले लागू गराउन दबाबमूलक रणनीति अवलम्बन गर्न थालेको छ ।

पछिल्ला दुई ठूला निर्णयहरूमा कांग्रेसले राखेको अडानमा प्रधानमन्त्री ओली झुक्न बाध्य भएका छन् । यसले ओली सत्तामा टिकिरहँदा कांग्रेसको मागहरू पूरा गर्दै  जान विवश देखिएको राजनीतिक सन्देश प्रवाह भएको छ ।

स्रोतका अनुसार, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकारको नेतृत्व लिन आग्रह गरिरहेकै बेला कांग्रेसले त्यसको तत्काल प्रतिकृया नगरी उल्टै सत्तामा आफ्नो प्रभावशाली उपस्थिति कायम गर्दै ओलीलाई ’कन्ट्रोल’ गर्ने नीति अख्तियार गरेको हो । सत्ता साझेदारी भंग नहुने स्पष्ट सन्देश दिँदै कांग्रेसले प्रधानमन्त्री ओलीमाथि चरणबद्ध दबाब बढाइरहेको छ ।

कांग्रेसले हाललाई सत्ता छाड्ने भन्दा पनि सरकारभित्रै रहेर आफ्ना नीतिहरू कार्यान्वयन गराउने रणनीति अख्तियार गरेको देखिन्छ । प्रतिपक्षी दलहरूसँगको संवाद र देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावहरूबिच पनि कांग्रेस चुपचाप सत्ता समीकरण बिग्रन नदिई तर आफ्नो प्रभाव बलियो बनाउने लाइनमा देखिएको छ ।

कांग्रेसको दुई ठूला सफल दबाब
१) राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कांग्रेसको अडान
नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको विषय सत्तासिन कांग्रेस र एमालेका बीचमा निक्कै पेचिलो विषय बन्यो । कांग्रेसले आफना मान्छे र एमालेले आफना मान्छेलाई गर्भनर बनाउन अन्तिमसम्म निक्कै जोडघटाउ गरि रहे । मुद्दा पेचिलो बन्दै गइरहेको बेला प्रधानमन्त्री ओलीले अनेक बहाना बनाउन थालेपछि कांग्रेसले नयाँ नयाँ नाम प्रस्ताव गर्ने र ओली ती एकपछि अर्को नामको प्रस्ताव टारिरहेका थिए ।

तर, कांग्रेस सभापति देउवाले भने आफूले प्रस्ताव गरेको नामबाट पछि नहट्ने अडान लिँदा अन्ततः ओलीले डा. विश्व पौडेललाई गभर्नर बनाउने निर्णय गर्न बाध्य भए । यो नियुक्तिले सरकारभित्र कांग्रेसको निर्णय क्षमता र राजनीतिक दबाब स्पष्ट रूपमा देखिएको टिप्पणी गरिएको छ ।

२) ‘टेक एन्ड पे’ नीति खारेज गराउने दबाब
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नदी प्रवाहमा आधारित विद्युत् आयोजना खरिद गरिने विद्युत् आपूर्ति ‘टेक एन्ड पे’ आधारमा मात्र हुने प्रावधान ल्याएको थियो । यसले निजी क्षेत्रका जलविद्युत् लगानीकर्तामा तीव्र असन्तोष पैदा ग¥यो र उनीहरू आन्दोलनमा उत्रिए ।

त्यसपछि कांग्रेसले यो व्यवस्था हटाउन अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीलाई सिधा दबाब बढायो । पार्टी सभापति शेरवहादुर देउवाले आइतबार (हिजो) प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई फोन गरेर शुरुमा ‘टेक एन्ड पे’  खारेज नभए बजेट पारित हुन नदिने चेतावनी दिएपछि सरकारले बजेटभित्रकै त्यो विवादास्पद व्यवस्था हटाएको हो ।

ओलीले देउवाको दवावपछि बेलुकी देउवासँग भेटेरै उक्त ब्यवस्था हटाउने सहमति गरेका थिए । यस घटनाले सत्ताभित्र कांग्रेसको निर्णायक हैसियत झल्किएको विश्लेषण गरिएको छ ।

गठबन्धन तोड्ने होइन, ओलीलाई दवावमा राख्ने रणनीति
कांग्रेसले हाललाई सत्ता छाड्ने भन्दा पनि सरकारभित्रै रहेर आफ्ना नीतिहरू कार्यान्वयन गराउने रणनीति अख्तियार गरेको देखिन्छ । प्रतिपक्षी दलहरूसँगको संवाद र देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावहरूबिच पनि कांग्रेस चुपचाप सत्ता समीकरण बिग्रन नदिई तर आफ्नो प्रभाव बलियो बनाउने लाइनमा देखिएको छ ।

सत्ताभित्रको यो दबाबमूलक राजनीतिक रणनितिले प्रधानमन्त्री ओली कमजोर स्थितिमा पुगेको विश्लेषकहरूको ठम्याइ छ । ओली नेतृत्वलाई टिकाइराख्न कांग्रेसका मागहरू पालना गर्ने ‘नयाँ यथार्थ’ अब देखिन थालेको छ । कांग्रेसको पछिल्लो भूमिकाले ओली नेतृत्वको सत्ता समीकरणमा नयाँ चाप सिर्जना भएको छ । देउवाले नेतृत्वदायी भूमिका लिँदै कांग्रेसको नीति र नाफालाई सत्ताभित्रै सुनिश्चित गर्दै लगिरहेको छ

प्रतिक्रिया दिनुहोस