नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, १४ : १६
नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्न तयार ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकबारे छलफल सुरु गरिएको हो । सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले संसदमा यो विधेयकप्रति व्यापक चासो देखिएको बताएका छन् ।उनका अनुसार विधेयकमा आठ प्रमुख सूचक समावेश छन् । कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधन मार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए ।

छलफल क्रममा विज्ञ तथा संशोधनकर्ताका धारणा समेटिने विश्वास उनले व्यक्त गरे । हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि छिट्टै अगाडि बढाइने उनको भनाइ छ ।

हवाई दुर्घटनापछि पाउने बीमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नता हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए । विधेयकमा परेका संशोधन प्रस्तावबारे अब सहमतिमै विस्तृत छलफल हुने समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस