गढीमाई नगरपालिकामा ५५ करोड रुपैयाँको बजेट पारित

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०८२, १४ : ०१
गढीमाई नगरपालिकामा ५५ करोड रुपैयाँको बजेट पारित

रौतहट । रौतहटको गढीमाई नगरपालिकाको १२ औँ नगरसभाले आर्थिक वर्ष २०८२–०८३ का लागि करिब ५५ करोड रुपैयाँको बजेट पारित गरेको छ। शनिबार नगरपालिकाको सभाकक्षमा आयोजित नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १ सय ८ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

पारित बजेटमध्ये पुँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ र चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १ सय ८ रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता क्षेत्रमा बजेट केन्द्रित गरेको जानकारी दिएको छ।

सभामा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। नगर प्रमुख श्यामप्रसाद यादवले बजेट प्रस्तुत गर्दै नगरका विकास योजनाहरूलाई आगामी वर्षमा प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूलाई सहकार्यका लागि आग्रह समेत गरे।

नगरसभामा उपनगर प्रमुख स्मिता कुमारी यादव, वडा  १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस