‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, १८ : ५३
‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल

पाटन (ललितपुर) । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन्  ।

राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। 

“वैज्ञानिक अनुसन्धान तथा आविष्कारका क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिरहेको छैन, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको अभाग रहेकाले ती समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ”, उनले भने । उनले युवामा रहेका सिर्जनशील योजना, सीप र क्षमतालाई प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिए।

“युवाहरू विदेशपलायन हुनुपर्ने अवस्था न्यूनीकरण गर्न देशभित्र भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता छ, यस्ता खालका महत्त्वपूर्ण सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्नेछ । विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको अवस्थामा अनुसन्धानका पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनलगायत पक्षमा सुधार गर्नुपर्ने हुन्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस