काठमाडौं । नेकपा एमालेभित्र आगामी महाधिवेशनको नेतृत्वका आकांक्षीबीच मौन प्रतिस्पर्धा चर्किरहेको बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच मंगलबार साँझ दुई घण्टे भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त भेटमा ओली र भण्डारीबीच समसामयिक राजनीतिक अवस्थासँगै पार्टीभित्रको नेतृत्व संघर्ष, गुटगत गतिविधि र संगठनभित्रको ‘डिस्क्रिमिनेसन’बारे गम्भीर कुराकानी भएको स्रोतको दाबी छ ।
पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग विभिन्न विषयमा चासो राख्दै केही गम्भिर प्रश्नहरु गरेको भण्डारी निकट स्रोतले सफलखबरलाई बताएको छ । भण्डारीले सोधेका मुख्य प्रश्नहरू भने सीधा पार्टीको नेतृत्वशैली र साङ्गठनिक विभेदमा केन्द्रित थिए ।
एमाले विद्यार्थी संगठन अनेरास्ववियुको हालै सम्पन्न राष्ट्रिय सम्मेलनमा अध्यक्ष ओलीले भण्डारी लक्षित गदैं अहिले नै पार्टीको महाधिवेशन नतोकिएको र केही मान्छेहरु को अध्यक्ष हुने, को महासचिव हुने भन्दै हिडन थालेको भन्दै आपत्ति जनाएका थिए । ओलीसँग बालुवाटार भेटका क्रममा भण्डारीले सो अभिव्यक्तिबारे ओलीलाई सोध्दै भनिन्, “तपाईंको त्यो भनाइ मेरो सन्दर्भमै हो ?”
ओलीको जवाफ केही कुटनीतिक रह्यो । उनले उक्त टिप्पणी कुनै एक व्यक्तिविरुद्ध नभएर संगठनभित्र अनावश्यक विवाद ल्याउने केही ‘तलस्तरका गतिविधि’हरूतर्फ संकेत गरिएको बताए । तर भण्डारी ओलीको त्यस्तो जवाफमा सन्तुष्ट नदेखिएकी भण्डारी निकट स्रोतले बताएको छ । भण्डारीले एमाले केन्द्रीय कार्यालयबाट आफू निकट भनिएका नेता तथा कार्यकर्ताहरूमाथि विभेदपूर्ण व्यवहार भइरहेको भन्दै गुनासो समेत गरेकी थिइन् । भेटमा उनले स्पष्ट रूपमा भनिन्, “मेरो सम्पर्कमा आएका नेताहरूलाई किन स्पष्टीकरण सोधिन्छ ? किन कारवाहीको डर देखाइन्छ ? एमाले सबैको होइन र ?”
ओलीले पार्टी संगठनले सबैलाई समान व्यवहार गर्ने प्रयास गरेको दाबी गरे पनि भण्डारीले त्यसमा विश्वास गर्न सकेकी थिइनन् । उनले भनिन्, “म पार्टीको पूर्व उपाध्यक्ष हुँ, कार्यकर्तासँग भेटघाट गर्नु मेरो राजनीतिक अधिकार हो । त्यसका लागि कसैको अनुमति चाहिँदैन ।” भण्डारी पछिल्लो समय राजनीतिका फर्किन सक्रिय देखिँदै आएकी छन् । उनी विभिन्न प्रदेश र जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । त्यही कारण ओलीलाई असहज बनाएको एमाले भित्रका नेताहरू बताउँछन् । ओली चाहिँ “पूर्वराष्ट्रपति राजनीतिको बाहिर बस्नु राम्रो भन्ने धारणा सार्वजनिक रूपमै राखिरहेका छन् । तर भण्डारी भने आफूलाई पन्छ्याउने प्रयासको प्रतिकार गर्न थालिसकेकी देखिन्छन् ।
एमालेको आगामी महाधिवेशनबाट भण्डारी अध्यक्ष भएमा वामपन्थी एकता पुनः सम्भव हुने विश्वास एमालेभित्र र बाहिर पनि व्यक्त हुन थालेको बेला भण्डारीको राजनीतिक दौड र भेटघाट भईरहेको छ । चीनले समेत भण्डारीप्रति चासो देखाएको भनिएको छ । यथार्थ के हो भन्ने पुष्टि भइनसकेको भए पनि ओली–भण्डारी सम्बन्धमा आउने तिक्तता त्यसकै आन्तरिक संकेत हो भन्ने विश्लेषकहरूको बुझाइ छ ।
विगतमा एमालेको एउटै पंक्तिमा संघर्ष गरेका ओली र भण्डारीबीच पछिल्लो समय कटुता बढ्दै गएको छ । ओलीले भण्डारीको पुनः राजनीतिमा प्रवेशलाई सहज लिन सकेका छैनन् । त्यही कारण उनले बालुवाटारको भेटमा पनि आफू संस्थागत निर्णयअनुसार अगाडि बढिरहेको भन्दै भण्डारीप्रति लक्षित आरोप अस्वीकार गरे ।
तर, पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो शैली, प्रश्न र सक्रियता हेर्दा अबको एमाले महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धा मात्र होइन, दाबी र दबाब पनि अझ चर्किने संकेत देखिन्छ । एमाले नेतृत्वसँगै, वाम राजनीतिमा फेरि एकचोटि ‘भण्डारी कार्ड’ चलेको छ । अब त्यसको जवाफ ओलीले संगठनको एकतामार्फत दिने कि संस्थागत कठोरतामार्फत भन्ने कुराले एमालेको आगामी भविष्य तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त
गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा किरात समुदायको उभौली पर्वको शुभकामना
नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा ल्होसारको शुभकामना
जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी