क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०८२, ०७ : २७
क्रिकेट विश्वकप लिग–२ :  नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको सनसनीपूर्ण जीत निकालेको हो ।

नेपालले दिएको २३७ रन चुनौती पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर सुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपालका बलरसामु निरीह बने । नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभेलियन फर्किरहेका थिए ।

पहिलो पारीमा ब्याटिङ गरेको नेपालले आरिफ शेखको ८४ रन मद्दतमा नेदरल्याण्ड्सलाई मध्यम चुनौती दिएको थियो ।

नेपालका लागि आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३६ रन जोडेको थियो । आरिफले ८५ बलमा ७ चौका र दुई छक्का हान्दै सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । आरिफले वानडेतर्फ अहिलेसम्मकै उच्च स्कोर हानेका हुन् ।

नेपालका अर्का किफायती ब्याट्सम्यान भीम सार्कीले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रन बनाए । कप्तान रोहित र भीमलाई माइकल लेभिटले आउट गरे ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रनमै आउट भए । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकासहित ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित बने ।

नेपालका ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । कुशलले १९ बलमा २ चौका हाने । दोस्रो विकेटका रुपमा १६ बल खेलेर अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनको शिकार भए ।

बलिङतर्फ नेदरल्याण्ड्सका पल भानले ४ र लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

नेदरल्याण्ड्सले १० रन पेनाल्टी पायो । यसो हुँदा जवाफी ब्याटिङको सुरुमै नेदरल्याण्ड्सले कुनै बल सामना नगरी १० रनबाट आफ्नो पारी सुरु गरेको थियो ।

दोस्रो इनिङ ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सका नेदरल्याण्ड्सका ओपनर म्याक्स’ओ डोडले ३.२ ओभरमा जम्मा चार रन जोड्दा नेपालका बलर नन्दन यादवले ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए ।

अर्का ओपनर मिचेल लेभिट क्रिजमा ११.३ ओभरसम्म टिके पनि जम्मा २७ रन बनाउँदै सन्दीप लामिछानेलाई लेग विफोर विकेट दिए ।

३६ रन जोडेका वेस्ली बारेसीलाई ललित राजवंशीले बसीर अहमदको हातबाट २०.२ ओभरमा क्याचआउट गराए । २१.४ ओभरमा लामिछानेले जेच लियोनको लेग विफोर विकेट लिए ।