वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०८२, ०८ : ०३
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा

सर्लाही । उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्टाएको छ । चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलामा बाढी आउँदा कैयौँ पटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ । 

सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए । “वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन”, उनले भने, “गत वर्ष खोलाले दुई/तीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ ।” आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले अनुभव सुनाए ।

गत वर्ष बागमतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो । वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताए । जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि बागमतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ । 

रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए । उनले भने, “फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ ।” उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । “चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति वितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ”, उनले गुनासो पोखे ।

चुरेको काखमा बागमती खुम्चिएर बगेको भए पनि जति जति दक्षिण गयो उति फैलिँदै गएको छ । नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झन्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । “बागमतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ”, बलरा–१ का हरिशरण कापरले भने । बागमतीको बाढीले उनको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो ।

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ । विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै  क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए। खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आङ्कलन र पूर्व तयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ बिचल्ली हुन नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस