काठमाडौं । काठमाडौंका तीन स्थानबाहेक सर्वत्र निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न लगिएको रिटलाई सर्वोच्चले दरपिठ गरिदिएको छ । संयुक्त जनआन्दोलन समितिका तर्फका प्रवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) को तर्फबाट रिट दायर गर्न खोजिएकोमा सर्वोच्चले हिजो अस्वीकार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार सूचना जारी गर्दै काठमाडौंका कोटेश्वर, बल्खु र चाबहिल (सिफल चौर) बाहेक कतै पनि ५ जनाभन्दा बढी भेला हुन नपाउन गरी निषेधाज्ञा जारी गरेको थियो ।
राजसंस्था पुनर्स्थापनाको मागसहित जारी राजावादी आन्दोलनलाई रोक्न सरकारको निर्देशनमा जिप्रकाले सो निर्णय लिएपछि लगभग सिंगै काठमाडौं निषेधित क्षेत्र बनेको छ। यसप्रति राजावादीहरूले आपत्ति जनाइरहेका छन् ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, गृहमन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई प्रत्यार्थी बनाइएको रिट निवेदनमा सरकारको निर्णयविरुद्ध उत्प्रेषण, परमादेश वा कुनै पनि उपयुक्त आदेश वा पुर्जी जारी गर्न माग गरिएको थियो ।निवेदकले सरकारको निर्णयबाट संविधानको धारा १६, १७ (१) (२), धारा १८ अन्तर्गत प्रत्याभूत गरिएको मौलिक हकमा आघात पर्न गएको बताएका छन् ।
निवेदनमा भनिएको छ, ‘यस पूर्व नै सम्मानित सर्वोच्च अदालतले समेत शान्तिपूर्णरुपमा विचार अभिव्यक्त गरी विरोध तथा प्रदर्शन गर्न पाउने स्थान भनी तोकेको काठमाडौं माइतीघर मण्डलामा शान्तिपूर्ण भेला गरी कुनै पनि विरोध प्रदर्शन वा विचार अभिव्यक्त गर्न रोक लगाउन नमिल्ने भन्ने स्थापित गरिसकेको छ । साथै राणाकालमा समेत जनताले आफ्नो असन्तुष्टि तथा विरोधहरू खुलारुपमा राख्नका लागि सबैका लागि खुला कार्यक्रम गर्न निश्चित गरिएको स्थान खुलामञ्च हुँदाहुँदै ती स्थानहरूमा प्रतिबन्ध लगाइ तनाव सिर्जना गर्ने कार्य प्रत्यार्थीहरुका अलोकतान्त्रिक आदेशहरूबाट नागरिकका संवैधानिक अधिकार कुण्ठित भएका छन् ।’
शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी भएको सूचना उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । साथै, निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रत्यार्थीहरुको उक्त सूचना कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश समेत मागिएको छ ।
स्वागत नेपाल र रादिका चम्लागाईँको तर्फबाट वारेसका रूपमा छोरी सभ्यता नेपालले रिट निवेदन लिएर गएकी थिइन् । तर, सर्वोच्च प्रशासनले ‘जनताको अभिव्यक्ति स्वतन्त्रता जोडिएको सार्वजनिक सरोकारको विषयमा निवेदकको कुनै सरोकार नदेखिएको’ भन्दै निवेदन दर्ता गर्न नमानेको हो । नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता नेपालले दरपिठविरुद्ध अर्को निवेदन दिने बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्चले रिट लिन अस्वीकार गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘थरिथरिको न्याय १ माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो। तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन। न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत