म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ पुगेका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी पुगेका हुन् ।
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरूको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका छन् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।
आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।
आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उनले जानकारी दिए । यसअघि काठमाडौँ पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘झोले’ भनियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री ओली
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
एमालेलाई ०८४ मा बहुमत ल्याउन असम्भव छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले जव राष्ट्रपतिलाई रोके....
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली
धेरैतिर फर्किएकाहरूलाई गलत विचारका आधारमा वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली