'संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ' : योगेश भट्टराई

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०८२, १० : ३०
'संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ' : योगेश भट्टराई

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद् बैठक सञ्चालन गरिनुपर्ने बताएका छन् । संसद् संवाद गर्ने थलो भएको उनले उल्लेख गरेका छन् ।

गृहमन्त्री रमेश लेखकलाई संसद् बैठकमा बोल्न दिनुपर्नेमा उनले जोड दिएका छन् । मंगलबार (जेठ २०) सामाजिक सञ्जाल फेसबुकमा उनले विगतका घटनाक्रम स्मरण गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

तत्कालीन समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं त्यति बेलाका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीका विषयमा प्रश्न उठाएको थियो । त्यसपछि लामिछानेले संसद्‌मा बोल्न समय मागेका थिए । तर, कांग्रेसले उनलाई बोल्न नदिने अडान लिएको थियो ।

“हामीले कांग्रेसको अडान गलत छ, गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्यौँ,” सांसद भट्टराईले विगत स्मरण गर्दै लेखेका छन्, “अन्ततः कांग्रेस अडानबाट पछि हट्यो । रविजीले संसद्को रोस्ट्रमबाट आफनो बचाउ गर्नुभयो ।”

यति बेला त्यस्तै परिस्थिति रहेको उनले उल्लेख गरेका छन् । त्यति बेलाका सत्ता र प्रतिपक्ष भने यति बेला फरक छन् । “आज साइकलको पांग्रा त्यही ठाउँमा आइपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदिने आज सत्तापक्ष, गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष,” उनले लेखेका छन् ।

आफूहरूको अडान त्यति र यति बेला पनि एउटै रहेको उनले बताएका छन् । “हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ,” उनले लेखेका छन्, “संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ । संसद् सुचारु गर्नुपर्छ । संवाद गर्ने थलो संसद् हो ।”

प्रतिक्रिया दिनुहोस