एजेन्सी । हालै गरिएको इम्युनोथेरापी औषधिको क्लिनिकल परीक्षणले टाउको र घाँटीको क्यान्सरबाट पीडित बिरामीको आयु लम्ब्याउन सक्ने देखाएको छ । इम्युनोथेरापीले क्यान्सर पुनः बल्झिन सक्ने जोखिमलाई पनि कम गर्न सक्ने देखाएको छ।
यो क्यान्सरका बिरामीका लागि सफलताको पहिलो संकेत भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । विगतमा जसको उपचारको सम्भावना कम थियो ।
४५ वर्षीया लौरा मार्स्टनले ६ वर्षअघि आफू जिब्रोको गम्भीर क्यान्सरबाट पीडित भएको थाहा पाइन् । चिकित्सकहरूले उनको बाँच्ने सम्भावना कम रहेको बताएका थिए । इम्युनोथेरापी औषधिको परीक्षणको हिस्सा बन्न पाउँदा लौरा खुसी छिन् । भन्छिन्, “अझै जीवित छु भनेर म आफैँ छक्क परिरहेकी छु ।”
शल्यक्रिया अघि र पछि उनलाई इम्युनोथेरापी औषधि दिइएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार यो औषधिले बिरामीको शरीरले क्यान्सर फर्किएमा कसरी आक्रमण गर्ने र नष्ट गर्ने भनेर सिक्न सक्छ ।
टाउको या घाँटीको क्यान्सरको उपचार गर्न अत्यन्तै गाह्रो छ। टाउको या घाँटीको क्यान्सर भएका आधाभन्दा बढी बिरामीको पाँच वर्षभित्र मृत्यु हुने गरेको तथ्यांक छ ।
लौरालाई २०१९ मा क्यान्सर भएको थाहा भयो । उनको जिब्रोमा घाउ थियो जुन निको हुन सकेन । डाक्टरहरूले उनलाई बाँच्ने सम्भावना केवल ३० प्रतिशत रहेको बताएका थिए ।
उनलाई बचाउनका लागि एक मात्र उपाय थियो उनको जिब्रो काटेर फाल्नु । उनको घाँटीमा रहेका लिम्फ नोडहरू पनि हटाउनुपर्थ्यो । यसपछि उनले फेरि बोल्न र खान सिक्नुपर्थ्यो । “म ३९ वर्षकी थिएँ र पूर्ण रूपमा निराश थिएँ,” उनले बीबीसीलाई भनिन् ।
क्यान्सरको उपचारका नयाँ तरिका पत्ता लगाउन भइरहेको अन्तर्राष्ट्रिय अध्ययनमा लन्डनको क्यान्सर अनुसन्धान संस्थानका विज्ञहरूलाई पनि समावेश गरिएको थियो । यस अध्ययनमा, ३५० भन्दा बढी बिरामीलाई इम्युनोथेरापी औषधि पेम्ब्रोलिजुमाब दिइयो । बिरामीलाई शल्यक्रिया अघि र पछि उनीहरूको शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन यो औषधि दिइन्थ्यो ।
बेलायतको क्लिनिकल परीक्षणको नेतृत्व गरिरहेका प्रोफेसर केभिन ह्यारिङ्टन भन्छन्, “हामी शरीरको प्रतिरक्षा प्रणालीलाई ट्युमरसँग लड्न आवश्यक पर्ने प्रतिरोधात्मक क्षमताको मौका दिन्छौँ । ट्युमर हटाइसकेपछि पनि एक वर्षसम्म निरन्तर औषधि दिएर प्रतिरक्षा प्रणलीलाई बढावा दिन जारी राख्छौँ ।”
टाउको र घाँटीको क्यान्सर भएका तर शरीरको बाँकी भागमा नफैलिएको अवस्थाका बिरामीमा यो परीक्षण गरिएको थियो । यस परीक्षणले उनीहरूमा सकारात्मक परिणाम देखायो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ जेठ २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया