एजेन्सी । हालै गरिएको इम्युनोथेरापी औषधिको क्लिनिकल परीक्षणले टाउको र घाँटीको क्यान्सरबाट पीडित बिरामीको आयु लम्ब्याउन सक्ने देखाएको छ । इम्युनोथेरापीले क्यान्सर पुनः बल्झिन सक्ने जोखिमलाई पनि कम गर्न सक्ने देखाएको छ।
यो क्यान्सरका बिरामीका लागि सफलताको पहिलो संकेत भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । विगतमा जसको उपचारको सम्भावना कम थियो ।
४५ वर्षीया लौरा मार्स्टनले ६ वर्षअघि आफू जिब्रोको गम्भीर क्यान्सरबाट पीडित भएको थाहा पाइन् । चिकित्सकहरूले उनको बाँच्ने सम्भावना कम रहेको बताएका थिए । इम्युनोथेरापी औषधिको परीक्षणको हिस्सा बन्न पाउँदा लौरा खुसी छिन् । भन्छिन्, “अझै जीवित छु भनेर म आफैँ छक्क परिरहेकी छु ।”
शल्यक्रिया अघि र पछि उनलाई इम्युनोथेरापी औषधि दिइएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार यो औषधिले बिरामीको शरीरले क्यान्सर फर्किएमा कसरी आक्रमण गर्ने र नष्ट गर्ने भनेर सिक्न सक्छ ।
टाउको या घाँटीको क्यान्सरको उपचार गर्न अत्यन्तै गाह्रो छ। टाउको या घाँटीको क्यान्सर भएका आधाभन्दा बढी बिरामीको पाँच वर्षभित्र मृत्यु हुने गरेको तथ्यांक छ ।
लौरालाई २०१९ मा क्यान्सर भएको थाहा भयो । उनको जिब्रोमा घाउ थियो जुन निको हुन सकेन । डाक्टरहरूले उनलाई बाँच्ने सम्भावना केवल ३० प्रतिशत रहेको बताएका थिए ।
उनलाई बचाउनका लागि एक मात्र उपाय थियो उनको जिब्रो काटेर फाल्नु । उनको घाँटीमा रहेका लिम्फ नोडहरू पनि हटाउनुपर्थ्यो । यसपछि उनले फेरि बोल्न र खान सिक्नुपर्थ्यो । “म ३९ वर्षकी थिएँ र पूर्ण रूपमा निराश थिएँ,” उनले बीबीसीलाई भनिन् ।
क्यान्सरको उपचारका नयाँ तरिका पत्ता लगाउन भइरहेको अन्तर्राष्ट्रिय अध्ययनमा लन्डनको क्यान्सर अनुसन्धान संस्थानका विज्ञहरूलाई पनि समावेश गरिएको थियो । यस अध्ययनमा, ३५० भन्दा बढी बिरामीलाई इम्युनोथेरापी औषधि पेम्ब्रोलिजुमाब दिइयो । बिरामीलाई शल्यक्रिया अघि र पछि उनीहरूको शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन यो औषधि दिइन्थ्यो ।
बेलायतको क्लिनिकल परीक्षणको नेतृत्व गरिरहेका प्रोफेसर केभिन ह्यारिङ्टन भन्छन्, “हामी शरीरको प्रतिरक्षा प्रणालीलाई ट्युमरसँग लड्न आवश्यक पर्ने प्रतिरोधात्मक क्षमताको मौका दिन्छौँ । ट्युमर हटाइसकेपछि पनि एक वर्षसम्म निरन्तर औषधि दिएर प्रतिरक्षा प्रणलीलाई बढावा दिन जारी राख्छौँ ।”
टाउको र घाँटीको क्यान्सर भएका तर शरीरको बाँकी भागमा नफैलिएको अवस्थाका बिरामीमा यो परीक्षण गरिएको थियो । यस परीक्षणले उनीहरूमा सकारात्मक परिणाम देखायो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ जेठ २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय